
अत्तरियाः कैलालीको गोदावरी नगरपालिकामा स्तन तथा पाठेघरको मुखको क्यान्सरसम्बन्धी जनचेतना, नियमित स्क्रिनिङ तथा प्रारम्भिक पहिचानलाई प्रभावकारी बनाउन ‘आशा परियोजना’ सञ्चालन हुने भएको छ।


आम्दा माइन्ड्स जापान, नेपाल कार्यालयले अघि बढाएको ‘ASHA Project: Awareness Screening and Health Action for Breast & Cervical Cancers in Kailali District’ महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयबाट २०८३ साउन ७ गते स्वीकृत भएको हो। परियोजनाका लागि २०८३ साउन १३ गते समाज कल्याण परिषद्सँग द्विपक्षीय सम्झौता भएपछि कार्यान्वयनको बाटो खुलेको हो।
जनचेतना तथा युवा जागरण मञ्च नेपाल (फाया नेपाल) को सहकार्य तथा कार्यान्वयनमा सञ्चालन हुने परियोजनाले गोदावरी नगरपालिकाभित्रका स्वास्थ्य संस्था तथा समुदायमा स्तन र पाठेघरको मुखको क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि गर्नेछ।
त्यस्तै, नियमित स्क्रिनिङ सेवाको प्रवर्द्धन, क्यान्सरको प्रारम्भिक पहिचान, समयमै निदान तथा उपचारका लागि प्रभावकारी रेफरल प्रणाली सुदृढीकरण र स्वास्थ्य संस्थाको क्षमता अभिवृद्धिमा समेत परियोजनाले काम गर्ने जनाइएको छ।
गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले नगर क्षेत्रमा स्वास्थ्यसम्बन्धी महत्वपूर्ण परियोजना भित्रिनु सकारात्मक भएको भन्दै स्वागत गरेका छन्। उनले परियोजनाको प्रभावकारी कार्यान्वयनका लागि नगरपालिकाको तर्फबाट आवश्यक समन्वय, सहकार्य र सहयोग रहने बताएका छन्।
नगर प्रमुख भट्टले नागरिकको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै विभिन्न साझेदार संस्थासँगको सहकार्यलाई थप विस्तार गरिने बताएका छन्। परियोजनाले विशेषगरी महिलाको स्वास्थ्यमा देखिने गम्भीर समस्याको समयमै पहिचान र उपचारमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।
































