
नेपाली कांग्रेसका राष्ट्रिय भेला आयोजक समितिका संयोजक डा. शशांक कोइरालाले सर्वोच्च अदालतको आदेशले पार्टी एकताबद्ध हुने सम्भावना बढेको बताएका छन्। सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले राष्ट्रिय भेलामा सहभागी हुनेको संख्या बढ्ने बताए।

पूर्वसभापति शेरबहादुर देउवा २६ गते स्वदेश फर्किँदा धरपकड हुने सम्भावना नरहेको उनको विश्वास छ। यदि त्यस्तो अवस्था आए विरोध गर्ने उनले चेतावनी दिए।

कोइरालाले नेता पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्था राम्रो नभएकाले पत्रकार सम्मेलनमा उपस्थित हुन नसकेको जानकारी दिए। त्यस्तै, अर्का नेता शेखर कोइरालाको पनि राष्ट्रिय भेलाप्रति समर्थन रहेको उनले दाबी गरे।

शेखर कोइराला विराटनगरमा घर निर्माणमा व्यस्त रहेकाले कार्यक्रममा आउन नसकेको तर उनको समर्थन रहेको शशांकको भनाइ छ। उनले पार्टीभित्र देखिएको असहमतिबीच राष्ट्रिय भेला एकताको आधार बन्न सक्ने संकेतसमेत गरेका छन्।































