१८ वर्षदेखि अलपत्र धनगढी–दिपायल द्रुतमार्ग, अब तीन वर्षभित्र सक्ने दाबी

Image
Nisarga Hospital

सुदूरपश्चिम प्रदेशमा भारत र चीनको सीमा क्षेत्रलाई छोटो दूरीमा जोड्ने लक्ष्यसहित निर्माण सुरु गरिएको धनगढी–खुटिया–दिपायल–चैनपुर–उरइभन्ज्याङ द्रुतमार्गको खुटिया–दिपायल खण्ड तीन वर्षभित्र सम्पन्न गर्ने दाबी गरिएको छ।

CP Hospital Dhangadhi

आयोजना प्रमुख शशांक मिश्रका अनुसार चालु आर्थिक वर्षमा खुटिया–दिपायल सडकका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन भएको छ। करिब ५५ करोड रुपैयाँ बराबरको ठेक्का प्रक्रिया अघि बढिसकेको भन्दै उनले थप डेढ अर्ब रुपैयाँ बजेट स्वीकृत भए तीन वर्षभित्र निर्माण सम्पन्न गर्न सकिने बताए।

खुटियादेखि दिपायलसम्मको ८६ किलोमिटर सडकमा हालसम्म २० किलोमिटर कालोपत्रे भइसकेको छ। यस्तै, दिपायलदेखि मेल्लेखसम्मको ३२ किलोमिटर सडक पनि कालोपत्रे सम्पन्न भएको आयोजनाले जनाएको छ। खुटिया–दिपायल खण्डमा निर्माण गर्नुपर्ने १७ पुलमध्ये चारवटा सम्पन्न भएका छन् भने तीनवटा निर्माणाधीन छन्।

nawajiwan
Attariya Hospital

सडक विभागले आर्थिक वर्ष २०६५/०६६ मा सुरु गरेको यो आयोजना लामो समयदेखि सुस्त गतिमा अघि बढ्दै आएको छ। २०७३/०७४ मा निर्माणलाई तीव्रता दिन छुट्टै आयोजना कार्यालय स्थापना गरिएको थियो। २०७६ सालमा सुदूरपश्चिम प्रदेश सरकारले आयोजना आफ्नो मातहतमा लिएर निर्माण गर्ने निर्णय गरे पनि स्रोत व्यवस्थापनमा समस्या देखिएपछि करिब सात महिनामै संघीय सरकारलाई फिर्ता गरिएको थियो।

सुरुमा पाँच वर्षभित्र धनगढीदेखि दिपायल जोड्ने लक्ष्य राखिएको भए पनि निर्माण सुरु भएको १८ वर्ष बितिसक्दा सडक पूर्ण रूपमा सम्पन्न हुन सकेको छैन। कतिपय क्षेत्रमा ट्र्याकसमेत खुल्न बाँकी छ।

सुरुमा खुटिया–बीपीनगर–दिपायल फास्ट ट्र्याक नाम दिइएको सडकलाई पछि बझाङको चैनपुर हुँदै चीनतर्फको उरइभन्ज्याङ नाकासम्म विस्तार गर्ने योजना बनाइएको हो।