
पर्सामा ट्याङ्करबाट तेल चोरी गरिरहेको अवस्थामा सात जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साले चोरीमा संलग्न सात जनासहित २० हजार लिटर क्षमताको ट्याङ्कर नियन्त्रणमा लिएको जनाएको छ।

प्रहरीका अनुसार इन्डियन आयल कर्पोरेशन (आईओसी) को बरौनी टर्मिनलबाट नेपाल आयल निगमको हवाई इन्धन डिपो, सिनामंगल काठमाडौंका लागि आउँदै गरेको ना.७ ख १५३९ नम्बरको ट्याङ्कर वीरगञ्जस्थित सौदागर आयल सेन्टरमा तेल चोरीमा संलग्न रहेको सूचनाका आधारमा निगरानी गरिएको थियो।
वीरगञ्ज महानगरपालिका–१४ बाइपास सडकखण्डस्थित पेट्रोल पम्पमा ट्याङ्करको सिललाई फलामे पाइपको हुक प्रयोग गरी उचालेर तेल चोरी गरिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। चोरी गरिएको तेल ग्यालेनमा निकालिरहेको अवस्थामा प्रहरीले ट्याङ्कर र संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएको हो।


पक्राउ पर्नेमा पेट्रोल पम्प सञ्चालक सुनैन मियाँ, कर्मचारी असलम हवारी र रफिक मियाँ तथा सन्देश राना मगर, केशरराम सुनार, मन्दसिंह लामा र उमेश राना मगर रहेका छन्।
घटनामा ट्याङ्करबाट कति परिमाणमा तेल चोरी भयो र यसमा अन्य व्यक्तिको संलग्नता भए–नभएकोबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता चक्रबहादुर मल्लले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो।































