
प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय लाग्ने बताएका छन्। शुक्रबार राति सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले ढिलाइ भए पनि निर्णय वा परिणाम गलत नहुने भन्दै सबैलाई नआत्तिन आग्रह गरेका छन्।

शाहले बाहिरबाट सुनेका वा देखेका कुराभन्दा वास्तविकता कतिपय अवस्थामा फरक हुन सक्ने बताएका छन्। परिस्थितिको सही मूल्याङ्कन गर्नुअघि हतारमा निष्कर्ष ननिकाल्न उनको सन्देशले संकेत गरेको छ।
उनले कठिन परिस्थितिमा कहिलेकाहीँ एक्लै संघर्ष गर्नुपर्ने अवस्था आउने उल्लेख गर्दै आफू यसअघि पनि यस्ता परिस्थितिको सामना गरिसकेको बताएका छन्। शाहको अभिव्यक्तिले पछिल्लो राजनीतिक तथा समसामयिक परिस्थितिबारे धैर्य राख्न आग्रह गरेको देखिन्छ।


उनले फेसबुकमा लेखेका छन्, ‘केही समय लाग्छ, सही समय आउनलाई। ढिला होला, तर गलत हुँदैन। नआत्तिनुहोस्।’ उनले थपेका छन्, ‘सुनेको र देखेकोभन्दा वास्तविकता कहिलेकाहीँ फरक हुन सक्छ। कहिलेकाहीँ एक्लै लड्नुपर्छ। यो पहिलो चोटि होइन।’
शाहको उक्त भनाइपछि सामाजिक सञ्जालमा उनको सन्देशको अर्थ र पछिल्लो परिस्थितिसँगको सम्बन्धबारे विभिन्न चर्चा हुन थालेको छ।































