देशभर मनसुन सक्रिय, केही प्रदेशमा भारी वर्षाको सम्भावना

Image
Nisarga Hospital

हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका अधिकांश भूभागमा बदली र वर्षाको अवस्था देखिएको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार कोशी, मधेस र बागमती प्रदेशलगायत हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहेको छ। तराईका अधिकांश क्षेत्रमा भने आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। बागमतीका केही स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ भने कोशी, मधेस र लुम्बिनीका एक–दुई स्थानमा पनि हल्का वर्षा भएको छ।

आज दिउँसो देशभर साधारणतया बदली रहने अनुमान गरिएको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा केही स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोशी र बागमतीका पहाडी भागका धेरै स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी भागका केही स्थानमा मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

nawajiwan
Attariya Hospital

त्यस्तै, तराईका केही स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ। कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति पनि देशभर साधारणतया बदली रहनेछ। हिमाली तथा पहाडी भागका केही स्थानमा मध्यम वर्षा तथा हिमपात हुन सक्नेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, मधेस र सुदूरपश्चिमका तराई क्षेत्रमा केही स्थानमा मध्यम वर्षाको सम्भावना छ भने कर्णालीका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान छ।

भारी वर्षाले गेग्रान बहाव, बाढी, पहिरो र भूक्षयको जोखिम बढाउन सक्ने भएकाले महाशाखाले सतर्क रहन आग्रह गरेको छ। वर्षाका कारण दैनिक जनजीवनसँगै कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने जनाएको छ।