
इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि अस्पताल भर्ना गरिएको इजरायली सञ्चारमाध्यमहरूले दाबी गरेका छन्। च्यानल–१४ ले इरानभित्रका स्रोतलाई उद्धृत गर्दै उनको अवस्था गम्भीर रहेको जनाएको छ।

जेरुसेलम पोस्टले उद्धृत गरेको स्रोतले पनि खामेनीको स्वास्थ्यमा कठिनाइ देखिएको जनाएको छ। यद्यपि, पछिल्लो दाबीको स्वतन्त्र पुष्टि भने भइसकेको छैन। खामेनी सन् २०२६ को फेब्रुअरी २८ मा भएको अमेरिका–इजरायलको संयुक्त सैन्य आक्रमणमा घाइते भएको बताइँदै आएको छ। त्यसपछि मार्चमा उनले इरानको सर्वोच्च नेताको जिम्मेवारी सम्हालेका थिए।
पदभार ग्रहण गरेयता उनी सार्वजनिक कार्यक्रममा देखिएका छैनन् र लिखित वक्तव्यमार्फत प्रशासनिक तथा राजनीतिक गतिविधि सञ्चालन गर्दै आएका छन्। उनको सार्वजनिक अनुपस्थितिले स्वास्थ्य अवस्थाबारे लामो समयदेखि विभिन्न अड्कलबाजी हुँदै आएको छ। यसअघि इरानी अधिकारीहरूले उनको चोट सामान्य रहेको दाबी गरेका थिए।


पछिल्लो समय राष्ट्रपति मसूद पेजेस्कियानसँग प्रत्यक्ष भेटघाट तथा संवाद कठिन रहेको भन्ने विवरणले पनि उनको स्वास्थ्यबारे प्रश्न थप बढाएको छ। यसअघि मे महिनामा एक इरानी अधिकारीले उनी युद्धका क्रममा लागेको चोटबाट निको भएको दाबी गरेका थिए।
पछिल्लो अस्पताल भर्नाको खबर सार्वजनिक भएसँगै इरानको नेतृत्व र आगामी राजनीतिक अवस्थाबारे समेत नयाँ चासो उत्पन्न भएको छ। यद्यपि, खामेनीको स्वास्थ्य अवस्थाबारे इरानी सरकारबाट पछिल्लो आधिकारिक पुष्टि सार्वजनिक भएको छैन।































