अब बाटो देखाउने मात्र होइन, काम पनि गरिदिनेछ Google Maps, खाना अर्डरदेखि होटल बुकिङसम्म एआईको साथ

Image
Nisarga Hospital

अपरिचित ठाउँमा पुग्न बाटो खोज्ने सबैभन्दा लोकप्रिय माध्यममध्ये एक बनेको Google Maps अब केवल नक्सा र दिशानिर्देशन दिने उपकरणमा सीमित नहुने भएको छ। गुगलले आफ्नो ‘Ask Maps’ फिचरलाई थप क्षमतासहित विस्तार गर्दै प्रयोगकर्ताको प्रश्नको जवाफ दिनेमात्र होइन, आवश्यक कामसमेत अघि बढाउन सक्ने एआई एजेन्टका रूपमा विकास गरिरहेको जनाएको छ।

CP Hospital Dhangadhi

नयाँ सुविधासँगै प्रयोगकर्ताले म्याप्सभित्रैबाट रेस्टुरेन्ट खोज्ने, आफूलाई मनपर्ने खाना पहिचान गर्ने, अनलाइन अर्डरको प्रक्रिया अघि बढाउने, होटल बुकिङ तथा कार्यक्रमका टिकट खोज्नेजस्ता काम गर्न सक्नेछन्। यसले विभिन्न कामका लागि पटक–पटक अलग–अलग एप खोल्नुपर्ने झन्झट घटाउने अपेक्षा गरिएको छ।

उदाहरणका लागि, प्रयोगकर्ताले ‘मेरो घरनजिकै भेगन एभोकाडो टोस्ट र ओट मिल्क लाटे पाइने ठाउँ देखाऊ’ भनेर सामान्य भाषामै सोध्न सक्नेछन्। ‘Ask Maps’ ले नजिकका विकल्प पहिचान गरी आवश्यक परिकार उपलब्ध हुने रेस्टुरेन्ट देखाउनेछ। त्यसपछि रेस्टुरेन्ट छनोट गरी ‘अर्डर अनलाइन’ विकल्पमार्फत अर्डर प्रक्रियामा अघि बढ्न सकिनेछ।

nawajiwan

गुगलका अनुसार समर्थित सेवा उपलब्ध भएको अवस्थामा एआईले प्रयोगकर्ताको रोजाइअनुसार सामान कार्टमा थप्नसमेत सहयोग गर्नेछ। यसका लागि Square, Toast र Uber Eats जस्ता समर्थित प्लेटफर्मसँग जोडिएर काम गर्न सकिनेछ। यद्यपि अन्तिम भुक्तानी भने सम्बन्धित सेवा प्रदायककै प्लेटफर्मबाट गर्नुपर्नेछ।

Attariya Hospital

यसका साथै ‘Ask Maps’ मा व्यक्तिगत इन्टेलिजेन्सको सुविधा पनि थपिँदैछ। प्रयोगकर्ताको अनुमति र उपलब्ध जानकारीका आधारमा Gmail तथा Google Calendar मा रहेका विवरण प्रयोग गरेर म्याप्सले अझ सान्दर्भिक सुझाव दिन सक्नेछ। यसले प्रयोगकर्ताको तालिका, स्थान र आवश्यकताअनुसार कहाँ जाने वा कुन समयमा उपयुक्त स्थान रोज्ने भन्ने विषयमा सुझाव दिन सहयोग गर्नेछ।

गुगलको यो कदमले Maps को भूमिकामै परिवर्तन ल्याउने संकेत गरेको छ। यसअघि ‘यो ठाउँ कहाँ छ ?’ वा ‘त्यहाँ कसरी पुग्ने ?’ भन्ने प्रश्नको जवाफ दिने Maps अब ‘मलाई त्यहाँ जानु छ, आवश्यक काम पनि मिलाइदेऊ’ भन्ने स्तरको डिजिटल सहायक बन्ने दिशामा अघि बढेको देखिन्छ।

यद्यपि यी नयाँ एजेन्टिक सुविधा सबै प्रयोगकर्ता, देश वा सेवा प्रदायकका लागि एकैपटक उपलब्ध नहुन सक्छन्। उपलब्धता स्थान, सेवा प्रदायक र सम्बन्धित प्लेटफर्मअनुसार फरक हुने गुगलले जनाएको छ।