
कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले मोटरसाइकलसहित बगाएका चालकको प्रहरीले सकुशल उद्धार गरेको छ। अविरल वर्षासँगै आएको बाढीले सुर्खेतबाट कैलालीतर्फ आउँदै गरेका बर्दगोरिया गाउँपालिका–२ का ३९ वर्षीय लौटन थारुले चलाएको से ४ प ८६७९ नम्बरको मोटरसाइकल बगाएको थियो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बिहीबार राति करिब साढे ८ बजेको समयमा मोटरसाइकलसहित थारु खोलाको तीव्र बहावमा बगेका थिए। घटनाको जानकारी पाएलगत्तै इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी निरीक्षक मिरा खड्काको कमान्डमा प्रहरी टोली घटनास्थलतर्फ परिचालन भएको थियो।
प्रहरी टोलीले खोजी तथा उद्धार गर्ने क्रममा घटनास्थलभन्दा करिब १५० मिटर तल भिरालो खोलाबाट बगिरहेको अवस्थामा थारुलाई फेला पारेको थियो। जोखिमपूर्ण अवस्थाबीच प्रहरीले उनलाई तत्काल उद्धार गरी सुरक्षित स्थानमा ल्याएको जनाइएको छ।




उद्धार गरिएका थारुको ढाड र दाहिने कुइनामा सामान्य चोट लागेको प्रहरीले जनाएको छ। उनको समग्र स्वास्थ्य अवस्था भने सामान्य रहेको बताइएको छ। बाढीका कारण मोटरसाइकल भने बगेको जनाइएको छ।
पछिल्लो समय लगातारको वर्षाका कारण कैलालीका विभिन्न खोला तथा नदीमा पानीको बहाव बढेको छ। स्थानीय प्रशासन र प्रहरीले खोला तथा नदी आसपास यात्रा गर्दा विशेष सावधानी अपनाउन आग्रह गर्दै आएका छन्। विशेषगरी वर्षाको समयमा अचानक आउने बाढी र तीव्र बहावका कारण जोखिम बढ्ने भएकाले चालक तथा यात्रुलाई सतर्क रहन आग्रह गरिएको छ।



































