
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले सरकार र पार्टीभित्र गडबडी तथा विवाद भएको भन्दै फैलिएका हल्ला ‘र्युमर’ मात्रै भएको दाबी गरेका छन्। शनिबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्ता अफवाहलाई ‘स्न्याक्स’का रूपमा मात्रै लिन आग्रह गरे।

लामिछानेले राजनीतिक रूपमा अप्ठेरो अवस्था सिर्जना भएको वा पार्टीभित्र झगडा भएकोजस्ता हल्लाको कुनै खास मूल्य नरहेको बताए। उनले आफूहरूबीच कुनै विवाद नरहेको संकेत गर्दै त्यस्ता हल्लाबाट भ्रमित नहुन आग्रह गरे।
उनले रास्वपाले कुनै व्यक्तिसँग नभई इतिहाससँग वाचा गरेको दाबी गरे। त्यसैले आफूहरूलाई आफ्ना प्रतिबद्धता र वाचाबाट पछि हट्ने छुट नभएको उनको भनाइ थियो।


सरकारले रोजगारी सिर्जना गर्ने वाचा गरे पनि तोकिएको समयमा सबै प्रतिबद्धता पूरा हुन नसकेको स्वीकार गर्दै लामिछानेले त्यसबाट आफूहरू निराश नभएको बताए। वाचा पूरा गर्न निरन्तर प्रयास गरिरहने र हार नमान्ने उनको भनाइ थियो।
लामिछानेले देशमा परिवर्तन गर्ने अवसर सबैलाई सधैं प्राप्त नहुने भन्दै अहिलेको अवसरलाई सदुपयोग गर्नुपर्ने बताए। समाज र इतिहासले आफूहरूलाई परिवर्तनको संवाहक बन्ने अवसर दिएको उल्लेख गर्दै उनले सरकार र राजनीतिक नेतृत्वको मुख्य जिम्मेवारी नागरिकलाई काम गर्न सक्ने वातावरण निर्माण गर्नु रहेको बताए।
उनले युवालाई देशमै अवसर सिर्जना गर्ने वातावरण बनाउन सरकार केन्द्रित रहेको र प्रतिबद्धता पूरा गर्ने दिशामा अघि बढिरहेको दाबी गरे।






























