
भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकी उपराष्ट्रपति जेडी भान्सबीच फोनवार्ता भएको छ। वार्तामा भारत–अमेरिकाबीचको ‘व्यापक वैश्विक रणनीतिक साझेदारी’लाई विभिन्न क्षेत्रमा थप सुदृढ बनाउने उपायबारे छलफल भएको मोदीले सामाजिक सञ्जाल एक्समार्फत जानकारी दिएका छन्। मोदीले भान्स र उनकी पत्नी उषालाई छोराको जन्ममा बधाई दिँदै परिवारको सुख–समृद्धिको कामना पनि गरेका छन्।

क्षेत्रीय तनाव बढिरहेका बेला भएको वार्तामा होर्मुज जलडमरूमध्यको अवस्थासमेत महत्वपूर्ण बनेको छ। भान्सले अमेरिकाले जलडमरूमध्यबाट व्यावसायिक जहाजलाई सुरक्षित रूपमा आवतजावत गराउने प्रयास गरिरहेको बताएका छन्। इरानसँग तेल तथा ग्यासको अधिकतम प्रवाह सुनिश्चित गर्ने र व्यावसायिक जहाजमाथि आक्रमण नगर्ने प्रतिबद्धताबारे छलफल भइरहेको उनको भनाइ छ।

यसैबीच, अमेरिकी सिनेटले रुसबाट तेल तथा ग्यास खरिद गर्ने मुलुकमाथि थप आर्थिक दबाब सिर्जना गर्ने विधेयक ८६–११ मतले पारित गरेको छ। ‘लिन्ड्से ओ. ग्राहम सेन्क्सनिङ रसिया एन्ड इरान एक्ट अफ २०२६’ ले रुसी ऊर्जा खरिद गर्ने प्रमुख पाँच मुलुकमाथि आवश्यक परे १०० प्रतिशतसम्म अतिरिक्त भन्सार लगाउने अधिकार अमेरिकी राष्ट्रपतिलाई दिने व्यवस्था गरेको छ।

रुसी कच्चा तेलका प्रमुख खरिदकर्तामध्ये भारत र चीन रहेकाले नयाँ व्यवस्थाको प्रत्यक्ष असर भारतमाथि पर्न सक्ने देखिएको छ। सन् २०२२ मा रुस–युक्रेन युद्ध सुरु भएपछि भारतले छुट मूल्यमा रुसी तेलको खरिद बढाउँदै आएको छ। होर्मुज तनावसँगै अमेरिकी दबाब बढेपछि भारतको ऊर्जा सुरक्षा र विदेश नीतिबीच चुनौती थपिएको छ।































