
जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली भएको छ। बागमती र गण्डकीका केही तथा कोशी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही स्थानमा मध्यम वर्षा तथा पहाडी भूभागका धेरै स्थानमा मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराईका केही तथा मधेस, कोशी, बागमती र गण्डकीका तराईका थोरै स्थानमा पनि मध्यम वर्षा हुन सक्ने जनाइएको छ।
कोशी, बागमती र गण्डकीका हिमाली तथा पहाडी भूभाग, कर्णालीको पहाडी क्षेत्र र लुम्बिनीका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।


आज राति पनि देशभर सामान्यतया बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भूभागका धेरै स्थानमा मध्यम वर्षा हुन सक्नेछ। मधेस र कर्णालीका पहाडी तथा बागमतीका पहाडी र तराई क्षेत्रमा केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।
राति कोशी, गण्डकी र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्र र बागमतीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले बाढी, पहिरो तथा डुबानको जोखिमप्रति सतर्क रहन महाशाखाले आग्रह गरेको छ।































