हर्मुज जलमार्ग खोल्ने वार्ता सकारात्मक, इरानले क्षतिपूर्ति र नाकाबन्दी हटाउनुपर्ने सर्त राख्यो

Image
Nisarga Hospital

इरान र ओमानबीच हर्मुज जलमार्ग सञ्चालन गर्ने विषयमा भइरहेको वार्ता सकारात्मक दिशामा अघि बढेको ओमानको विदेश मन्त्रालयले जनाएको छ। जलमार्ग सञ्चालनका लागि नयाँ मार्ग तथा सुरक्षा व्यवस्थाबारे इरानसँग छलफल भइरहेको जनाइएको छ।

CP Hospital Dhangadhi

इरानी विदेशमन्त्री अब्बास अराघ्चीले वार्ता अन्तिम चरणमा पुगे पनि हर्मुज खोल्न केही सर्त पूरा हुनुपर्ने बताएका छन्। इरानले अमेरिकाबाट क्षतिपूर्ति पाउनुपर्ने विषयलाई प्रमुख सर्तका रूपमा अघि सारेको छ। इरानले युद्धविराम तथा वार्ता अघि बढाउने समझदारी अमेरिकाले उल्लङ्घन गरेको आरोप लगाउँदै आएको छ।

इरानका सुरक्षा प्रमुख मोहम्मद बाकेर जोल्घद्रले अमेरिकी धम्की रोक्नुपर्ने, इरानी बन्दरगाहमाथिको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउनुपर्ने र रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्ने माग गरेका छन्। उनले माग पूरा नभएसम्म हर्मुज तत्काल नखोलिने संकेत दिएका छन्।

nawajiwan
Attariya Hospital

विश्वकै महत्वपूर्ण ऊर्जा मार्गमध्ये एक हर्मुज जलमार्गबाट सामान्य अवस्थामा विश्वको करिब २० प्रतिशत तेल तथा प्राकृतिक ग्यास ओसारपसार हुने गर्छ। जलमार्ग अवरुद्ध हुँदा विश्व बजारमा तेलको मूल्य र ऊर्जा आपूर्तिमा ठूलो असर पर्न सक्छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चाँडै सहमति हुन सक्ने बताएका छन्। तर उपराष्ट्रपति जेडी भान्सले वार्तामा प्रगति भए पनि अझै धेरै काम बाँकी रहेको बताएका छन्। यसअघि इरानले हर्मुज हुँदै जाने जहाजबाट ५ देखि ७ प्रतिशतसम्म शुल्क लिन खोजेको समाचारसमेत सार्वजनिक भएको थियो। वार्ताकै क्रममा केही जहाजमाथि आक्रमणका घटना पनि भएका छन्।