एलपी ग्यासको आपूर्ति सहज हुँदै, साउनमा ५५ हजार मेट्रिक टन आयातको अनुमान

Image
Nisarga Hospital

काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा देखिएको खाना पकाउने एलपी ग्यासको अभाव क्रमशः सहज हुँदै गएको नेपाल आयल निगमले जनाएको छ। असार ३१ गतेदेखि १४.२ किलोको सिलिन्डर बिक्री सुरु भएपछि माग र आपूर्तिमा केही असन्तुलन देखिए पनि भारतबाट आयात बढेसँगै अवस्था सुधारिँदै गएको निगमको भनाइ छ।

CP Hospital Dhangadhi

निगमका एलपी ग्यास विभाग निर्देशक विनितमणि उपाध्यायका अनुसार हाल भारतीय आयल कर्पोरेसनका रिफाइनरीबाट दैनिक १०० भन्दा बढी बुलेट ग्यास लोड भएर नेपाल आइरहेका छन्। ७.१ किलोबाट १४.२ किलोको सिलिन्डरमा पुनः सिफ्ट हुँदा प्रारम्भिक समस्या देखिए पनि बढीमा एक साताभित्र वितरण सामान्य हुने उनले बताए।

फागुन २९ देखि असार ३१ सम्म आधा सिलिन्डर बिक्री गरिँदा आयात करिब ५० हजार मेट्रिक टनले घटेको थियो। उपभोक्ताले पूर्ण सिलिन्डरलाई प्राथमिकता दिएकाले अहिले माग बढेको उद्योगीहरूको भनाइ छ।

nawajiwan
Attariya Hospital

निगमका अनुसार पछिल्लो २२ दिनमा ३९ हजार ७७४ मेट्रिक टन ग्यास आयात भएको छ। यही गति कायम रहे साउनमा करिब ५४–५५ हजार मेट्रिक टन आयात हुने अनुमान गरिएको छ।

चाडपर्वमा अभाव हुन नदिन सरकारले भारतसँग तीन महिनाका लागि आयात कोटा बढाउन कूटनीतिक पहल गरिरहेको छ। उद्योगमन्त्री गौरीकुमारी यादवसहित निगमका अधिकारीले उद्योग तथा बिक्री केन्द्रको अनुगमन तीव्र पारेका छन्।

उपत्यकामा गरिएको अनुगमनमा कृत्रिम अभाव वा कालोबजारी फेला नपरेको निगमले जनाएको छ। उपभोक्ताका गुनासा तत्काल सम्बोधन गर्न गठित ‘क्विक रेस्पोन्स टिम’ले ५०० भन्दा बढी गुनासा सम्बोधन गरिसकेको छ। निगमले उपभोक्तालाई आवश्यकताभन्दा बढी ग्यास सञ्चित नगर्न आग्रह गरेको छ।