
बैतडीका १० स्थानीय तहअन्तर्गत रहेका ८४ वडा कार्यालयमध्ये २२ वडामा मात्रै वडा सचिवको दरबन्दी पूर्ति भएको छ। बाँकी ६२ वडामा प्राविधिक, स्वास्थ्यकर्मी, करार कर्मचारी र कम्प्युटर अपरेटरलाई दोहोरो जिम्मेवारी दिएर वडा कार्यालय सञ्चालन गरिएको छ।

स्थानीय तहका अनुसार पाटनका सात, पुर्चौडीका नौ, मेलौलीका सात, दशरथचन्दका चार, दोगडाकेदारका चार, पञ्चेश्वरका चार, सुर्नयाका आठ, डिलाशैनीका पाँच, सिगासका नौ र शिवनाथका पाँच वडामा सचिवको दरबन्दी रिक्त छ।
१० वडा रहेको पाटनमा २, ६ र १० नम्बर वडामा मात्रै सचिव छन्। बाँकी सात वडाको जिम्मेवारी प्राविधिक कर्मचारीले सम्हालेका छन्। दशरथचन्दका १, २, ३ र ५ नम्बर वडा तथा पुर्चौडीका २ नम्बर वडामा सचिव छैनन्। पुर्चौडीका अन्य आठ वडामा पनि प्राविधिक कर्मचारीलाई जिम्मेवारी दिइएको छ।


मेलौलीका ३ र ८ नम्बर वडामा मात्र सचिव छन् भने अन्य वडामा कम्प्युटर अपरेटरसहितका कर्मचारीले जिम्मेवारी पाएका छन्। दोगडाकेदार र पञ्चेश्वरका चार–चार वडा पनि प्राविधिक कर्मचारीको भरमा छन्।
सुर्नयाका आठवटै वडा सचिवविहीन छन्। डिलाशैनीका पाँच र शिवनाथका पाँच वडामा समेत सचिव छैनन्। सिगासका नौवटै वडामा प्राविधिक तथा करार कर्मचारी खटिएका छन्।
कर्मचारी अभावले सेवा प्रवाह प्रभावित भएको डिलाशैनी गाउँपालिकाले जनाएको छ। सिगासका प्रमुख प्रशासकीय अधिकृत शंकर बोहराका अनुसार दुर्गम भएकाले स्थायी कर्मचारी आउन नमान्ने र आए पनि छिट्टै सरुवा माग्ने गरेका कारण करार कर्मचारीको भर पर्नुपरेको छ। सुर्नयामा एउटै प्राविधिकलाई दुई वडाको सचिवको जिम्मेवारीसमेत दिइएको छ।






























