
डडेल्धुराको अमरगढी नगरपालिका–५ तुफानडाँडामा शनिबार साँझ दुई मोटरसाइकल आपसमा ठोक्किँदा तीन जना घाइते भएका छन्।

कृतिपुरबाट बागबजारतर्फ आउँदै गरेको से ४ प ३०३३ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको से ६ प ६८२८ नम्बरको मोटरसाइकल ठोक्किएका हुन्।
दुर्घटनामा से ६ प ६८२८ का चालक अमरगढी–९ का २३ वर्षीय जगदीश भट्ट घाइते भएका छन्। उनको दुवै खुट्टा, चिउँडो र छातीमा चोट लागेको प्रहरीले जनाएको छ।

त्यस्तै, से ४ प ३०३३ का चालक अमरगढी–७ पोखराका ४० वर्षीय गणेश साकीको बायाँ कान, दाहिने खुट्टा र टाउकोमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको छ।

सोही मोटरसाइकलमा सवार अमरगढी–५ का ४७ वर्षीय दीपक भट्टको मुख, दाहिने खुट्टा, कम्मर र दाहिने हातमा चोट लागेको छ। उनको अवस्था पनि मध्यम रहेको प्रहरीले जनाएको छ।
तीनै जनाको डडेल्धुरा अस्पतालमा उपचार गरिएको थियो। थप उपचार आवश्यक भएपछि गणेश साकीलाई धनगढी रेफर गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रवक्ता प्रहरी निरीक्षक भास्कर चन्दले जानकारी दिए।
प्रहरीले दुवै मोटरसाइकल नियन्त्रणमा लिएर दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।






























