
नेपाल क्रिकेट संघ (क्यान) ले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को मिति सार्वजनिक गरेको छ। क्यानले शनिबार साँझ तेस्रो संस्करणको प्रतियोगिता आगामी कात्तिक ९ देखि मंसिर ५ गतेसम्म आयोजना हुने जानकारी दिएको हो।

क्यान सचिव पारस खड्काले जारी गरेको विज्ञप्तिअनुसार एनपीएल २०२६ अक्टोबर २६ देखि नोभेम्बर २१ सम्म सञ्चालन हुनेछ। यद्यपि प्रतियोगिताको विस्तृत खेलतालिका भने अझै सार्वजनिक गरिएको छैन।
तेस्रो संस्करणका लागि खेलाडीको अक्सन यसअघि नै सम्पन्न भइसकेको छ। अक्सनबाट खेलाडी छनोट गरेका टोलीहरूले अहिले विदेशी खेलाडी अनुबन्ध गर्ने तयारी तथा प्रक्रिया अघि बढाइरहेका छन्।


यसपटक क्यानले घोषणा गरेको एनपीएलको मिति नेपालीहरूको प्रमुख चाडपर्व दशैँ र तिहारको समयसँग जोडिएको छ। प्रतियोगिता तिहारकै आसपास पर्ने भएकाले खेल आयोजनालाई चाडपर्वसँग समायोजन गर्ने तयारी क्यानको छ।
क्यानले तिहारका दुई दिनबाहेक अन्य दिनमा खेल सञ्चालन गर्ने तयारी गरेको जनाइएको छ। यसअघि एनपीएल सामान्यतया तिहारपछि मंसिर महिनामा आयोजना हुँदै आएको थियो।
तेस्रो संस्करणलाई थप व्यवस्थित र आकर्षक बनाउने तयारी भइरहेको क्यानले जनाएको छ। विदेशी खेलाडीको सहभागिता, टोलीहरूको तयारी तथा खेलतालिका सार्वजनिक भएपछि प्रतियोगिताको स्वरूप अझ स्पष्ट हुने अपेक्षा गरिएको छ। एनपीएलको नयाँ संस्करणमा नेपाली क्रिकेटका खेलाडीले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्ने अवसर पाउनेछन्।































