
धनगढी: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तीनवटा प्रज्ञा प्रतिष्ठानमा नयाँ पदाधिकारी नियुक्त गरेको छ। मन्त्री खडकराज पौडेलको अध्यक्षतामा गठित सिफारिस समितिको सिफारिसमा प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा कुलपति, उपकुलपति, सदस्यसचिव तथा परिषद् सदस्य नियुक्त गरेका हुन्।

तीनवटै प्रतिष्ठानमा गरी २० जना परिषद् सदस्य नियुक्त हुँदा सुदूरपश्चिमबाट भने एक जना पनि नपरेपछि प्रदेशमा असन्तुष्टि बढेको छ। नेपाल प्रज्ञा प्रतिष्ठानमा आठ तथा ललितकला र संगीत तथा नाट्य प्रतिष्ठानमा छ–छ जना परिषद् सदस्य नियुक्त भएका छन्। तर, तीनवटै प्रतिष्ठानको परिषद्मा सुदूरपश्चिमलाई पूर्ण रूपमा बाहिर राखिएको भन्दै रास्वपा नेतृत्वप्रति समेत प्रश्न उठाइएको छ।
डेउडा गायक चक्र बमले सुदूरपश्चिमप्रति सरकारको व्यवहारप्रति असन्तुष्टि जनाएका छन्। उनले काली–कर्णालीप्रति यस्तो व्यवहार कहिलेसम्म सहनुपर्ने भन्दै सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन्।


नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसभा सदस्य तथा साहित्यकार जनक रसिकले साहित्य, कला र संस्कृतिमा सुदूरपश्चिम समृद्ध भए पनि राज्यले अवसर दिन कन्जुस्याइँ गर्दै आएको आरोप लगाए। उनका अनुसार विगतदेखि नै हुँदै आएको क्षेत्रीय उपेक्षाको निरन्तरता पछिल्लो नियुक्तिमा पनि देखिएको हो।
यसैबीच, मदन पुरस्कार विजेता साहित्यकार रामलला जोशीको नाम सदस्यसचिवका लागि टुंगो लागिसकेको भए पनि अन्तिम समयमा उनलाई सदस्यसचिवबाट पछि हटेर सदस्य मात्र बस्न आग्रह गरिएको बताइएको छ। जोशीले उक्त प्रस्ताव अस्वीकार गरेको जनाइएको छ।
यद्यपि, तीनवटै प्रतिष्ठानको सभा सदस्यमा सुदूरपश्चिमका आठ जना नियुक्त भएका छन्। नेपाल प्रज्ञा प्रतिष्ठानमा कैलालीका मोहित जोशी, किरण पौडेल, हरिप्रिया श्रेष्ठ, कञ्चनपुरका श्यामसुन्दर ढकाल, खडककुमारी गिरी र डोटीकी हेमन्ती जोशी नियुक्त भएका छन्। ललितकला प्रतिष्ठानमा कैलालीका दीपक आउजी तथा संगीत तथा नाट्य प्रतिष्ठानमा कञ्चनपुरकी रेखाकुमारी जोशी सभा सदस्य बनेका छन्।






























