
सौरमासअनुसार साउनको अन्तिम सोमबारको अवसरमा बोलबम यात्राका लागि भक्तजन सुन्दरीजलमा भेला भएका छन्। वाग्मती नदीमा स्नान गरी शुद्ध वस्त्र धारण गरेर जल बोकी खाली गोडा पशुपतिनाथसम्म पुगेर भगवान् शिवलाई अर्पण गर्ने परम्पराअनुसार भक्तजनको घुइँचो लागेको हो।

बोलबम काँरिया सङ्घ र सनातन युवा मञ्च नेपाललगायत संस्थाको आयोजनामा भएको यात्रामा करिब १० हजारभन्दा बढी भक्तजन सहभागी भएको प्रहरी प्रभाग सुन्दरीजलका प्रमुख प्रहरी नायब निरीक्षक नवीनविक्रम थापाले जानकारी दिए।
भक्तजन आइतबार रातिदेखि नै सुन्दरीजल पुगेर स्नान, पूजाआजा तथा नित्यकर्ममा सहभागी भएका थिए। राति अबेरसम्म भजनकीर्तनमा रमाएका उनीहरूले सोमबार बिहान स्नान गरी वाग्मतीको जल लिएर पशुपतिनाथतर्फ पैदल यात्रा गरेका छन्।


पशुपतिनाथ मन्दिरमा बोलबम यात्रुका लागि जल चढाउन उत्तरतर्फको ढोका छुट्याइएको छ। पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव तीर्थ श्रेष्ठका अनुसार भक्तजनले बासुकी हुँदै उत्तरढोकाबाट सहज रूपमा जल अर्पण गर्ने व्यवस्था मिलाइएको छ।
साउनको सोमबार पशुपतिनाथ दर्शन गर्न आउने भक्तजनको भीडलाई व्यवस्थित गर्न बिहान ३ बजेदेखि नै मन्दिरका चारै ढोका खुला गरिएको छ। बोलबम यात्राले धार्मिक आस्था, संस्कृति र परम्पराको जीवन्त झल्को दिएको छ।































