
कञ्चनपुरमा पछिल्ला चार वर्षमा सवारी दुर्घटनाका कारण १५४ जनाले ज्यान गुमाएका छन् भने एक हजार ७८४ जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/८० देखि हालसम्म दुर्घटनाबाट ठूलो मानवीय क्षति भएको हो।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बलेन्द्र नाथका अनुसार पूर्व–पश्चिम राजमार्गमा दुर्घटनाको जोखिम बढी छ। विशेषगरी मोटरसाइकल र स्कुटर दुर्घटनामा मानवीय क्षति धेरै हुने गरेको उनले बताए। तीव्र गतिका कारण अधिकांश दुर्घटना हुने गरेको उनको भनाइ छ।
ट्राफिक प्रहरीले मादक पदार्थ सेवन गरी सवारी चलाउने क्रम रोक्न नियमित जाँच गर्दै आएको जनाएको छ। राति १२ बजेसम्म बजार क्षेत्रदेखि राजमार्गका विभिन्न स्थानमा जाँच हुने गरेको प्रहरी निरीक्षक नाथले बताए।


कार्यालयका अनुसार आव २०७९/८० मा दुर्घटनामा ४३ जनाको मृत्यु र ५९ जना घाइते भएका थिए। आव २०८०/८१ मा ३२ जनाको मृत्यु र ७४ जना घाइते भए। आव २०८१/८२ मा ३८ जनाको मृत्यु र ७७३ जना घाइते भएको तथ्याङ्क छ।
गत आव २०८२/८३ मा मात्रै कञ्चनपुरमा ५६४ वटा सवारी दुर्घटना भएका थिए। ती दुर्घटनामा ४१ जनाको मृत्यु र ८७८ जना घाइते भएको ट्राफिक प्रहरीले जनाएको छ।
पछिल्ला तीन आर्थिक वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने ३५ हजार ८६१ सवारीलाई कारबाही गरिएको छ। गत आवमा मात्रै ट्राफिक कारबाहीबाट ५९ लाख १४ हजार ५०० रुपैयाँ राजस्व सङ्कलन भएको छ।































