ट्रम्पको गाजा शान्ति योजनामा इजरायलको असहमति, नेतन्याहूले भने– ‘हमास निःशस्त्र नभएसम्म सेना हट्दैन’

Image
Nisarga Hospital

गजामा दीर्घकालीन शान्ति स्थापना गर्ने उद्देश्यले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको १५ बुँदे योजनालाई इजरायलले अस्वीकार गरेको छ। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले आइतबार बसेको मन्त्रिपरिषद् बैठकमा इजरायल योजनाका केही प्रस्तावसँग सहमत नभएको स्पष्ट पारेका हुन्।

CP Hospital Dhangadhi

अमेरिकी समाचार संस्था एपीका अनुसार नेतन्याहूले हमास पूर्ण रूपमा निःशस्त्र नभएसम्म गजाबाट इजरायली सेना फिर्ता नहुने अडान दोहोर्‍याएका छन्। उनले अमेरिकासँग योजनाबारे छलफल जारी रहेको भन्दै केही प्रस्ताव स्वीकार्य र केही अस्वीकार्य रहेको बताए।

ट्रम्पले गत जुलाई ३१ मा आफ्नो ‘बोर्ड अफ पिस’मार्फत सार्वजनिक गरेको योजनामा गजाका हमासलगायत सशस्त्र समूहलाई निःशस्त्रीकरण गर्ने र त्यससँगै इजरायली सेना क्रमशः पछाडि हटाउने प्रस्ताव गरिएको थियो। हमासले भने योजनाप्रति प्रतिबद्ध रहेको जनाउँदै इजरायललाई सम्झौता कार्यान्वयन गर्न दबाब दिन मध्यस्थकर्ता र अमेरिकासँग आग्रह गरेको छ।

nawajiwan

हमासले इजरायलले गजामा आक्रमण रोक्नुपर्ने तथा युद्धविराम सम्झौताले निर्धारण गरेको ‘यलो लाइन’सम्म सेना पछाडि हटाउनुपर्ने सर्त राख्दै आएको छ। इजिप्टले पनि सबै पक्षलाई आफ्ना प्रतिबद्धता पूरा गर्न आग्रह गरेको छ।

Attariya Hospital

यसैबीच नेतन्याहूले आफू प्रधानमन्त्री रहँदासम्म गजा वा पश्चिम किनारमा प्यालेस्टिनी राज्य स्थापना हुन नदिने अडानसमेत दोहोर्‍याएका छन्।

इजरायलले गजाको आधाभन्दा बढी भूभाग नियन्त्रणमा राखेको अवस्थामा लामो युद्धका कारण क्षेत्रको ठूलो हिस्सा ध्वस्त भएको छ। करिब २० लाख मानिसको बसोबास रहेको गजामा मानवीय संकट गहिरिँदै गएको छ।

ट्रम्पको योजनामा नेतन्याहूको असहमतिले दुई नेताबीचको सम्बन्धमा थप तनाव बढ्न सक्ने संकेत देखिएको छ। पछिल्लो समय लेबनन, इरान र युद्धविरामलगायत विषयमा उनीहरूबीच मतभेद देखिँदै आएको छ।