
पछिल्लो ५५ दिनमा देशभर जापानी इन्सेफलाइटिसबाट ९ जनाको मृत्यु भएको छ। स्वास्थ्य सेवा विभागका अनुसार असार र साउनमा गरी ४६ जनामा संक्रमण पुष्टि भएकोमा ९ जनाको मृत्यु भएको हो।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा, बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा. अभियान गौतमले असार र साउनको तथ्याङ्क विश्लेषण गर्दा ९ जनाको मृत्यु भएको जानकारी दिए। उपलब्ध तथ्याङ्कअनुसार कोशी प्रदेशमा सबैभन्दा बढी ६ जनाको मृत्यु भएको छ।
कोशीमा झापाका ३ जना तथा इलाम, मोरङ र सुनसरीका १–१ जनाको मृत्यु भएको हो। यस्तै, मधेस प्रदेशका बारा, धनुषा, महोत्तरी, पर्सा, रौतहट र सप्तरीमा गरी ११ जना संक्रमित भएका छन्। तीमध्ये धनुषा र रौतहटमा १–१ जनाको मृत्यु भएको विभागले जनाएको छ।


यसैगरी दाङमा पनि एक जनाको मृत्यु भएको छ। संक्रमित तथा मृतकमध्ये अधिकांशले जापानी इन्सेफलाइटिसविरुद्धको खोप नलगाएको पाइएको स्वास्थ्य अधिकारीहरूले बताएका छन्।
चिकित्सकका अनुसार जापानी इन्सेफलाइटिस संक्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्छ। यो रोग संक्रमित व्यक्तिबाट अर्को व्यक्तिमा भने सर्दैन। संक्रमणबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्नुका साथै समयमै खोप लगाउन स्वास्थ्यकर्मीले आग्रह गरेका छन्।






























