
सङ्खुवासभा । सङ्खुवासभाको सदरमुकाम खाँदबारी नगरपालिका–१ बुद्धचोकबाट एलपी ग्यास कालोबजारी गरेको आरोपमा एक व्यवसायी पक्राउ परेका छन्। प्रहरीले खाँदबारी–१ स्थित भोजपुरे भाडा पसलका सञ्चालक लोकबहादुर श्रेष्ठलाई पक्राउ गरेको हो।

सरकारले तोकेको बजार मूल्यभन्दा बढीमा खाना पकाउने एलपी ग्यास बिक्री गरेको उजुरीका आधारमा श्रेष्ठलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ। प्रहरी निरीक्षक मेघराज अर्यालका अनुसार श्रेष्ठले साउन २३ गते पसलबाट उपभोक्तालाई प्रतिसिलिन्डर २ हजार ३०० रुपैयाँमा ग्यास बिक्री गरेको आरोप छ।
विशेष सूचनाका आधारमा प्रहरी टोलीले पसलमा पुगेर जाँच तथा अनुसन्धान गर्दा तोकिएको मूल्यभन्दा बढीमा ग्यास बिक्री वितरण गरेको पाइएको प्रहरीले जनाएको छ।


प्रहरीका अनुसार श्रेष्ठलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध ऐनअन्तर्गतको कसुरमा पक्राउ गरिएको हो। पक्राउ परेका श्रेष्ठमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाबाट तीन दिनको म्याद थप अनुमति लिइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
ग्यासजस्तो अत्यावश्यक वस्तुमा तोकिएको मूल्यभन्दा बढी रकम असुली उपभोक्ता ठगी तथा कालोबजारी गरेको पाइएपछि प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको हो। प्रहरीले बजारमा अत्यावश्यक वस्तुको मूल्य र बिक्री वितरणबारे निगरानी बढाइरहेको जनाएको छ।






























