प्रधानमन्त्री शाहले भारतीय र चिनियाँ राजदूतसँग छुट्टाछुट्टै भेटवार्ता गरे

Image
Nisarga Hospital

प्रधानमन्त्री वालेन्द्र शाहले नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव र चीनका राजदूत झाङ माओमिङसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गरेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा सोमबार भएको भेटमा दुवै राजदूतसँग द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, विकास साझेदारी तथा सहकार्यका विविध विषयमा छलफल भएको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ।

CP Hospital Dhangadhi

सरकार गठन भएको चार महिनापछि प्रधानमन्त्री शाहले विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेटवार्ता गरेका हुन्। यसअघि उनले विदेशी राजदूतहरूसँग व्यक्तिगत भेट नगर्ने अडान लिएका थिए।

भारतीय राजदूत श्रीवास्तवले प्रधानमन्त्री शाहलाई शुभकामना दिँदै नेपाल–भारत सम्बन्ध र सहकार्यलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए। जवाफमा प्रधानमन्त्री शाहले भारतसँगको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै साझा हितका क्षेत्रमा सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए।

nawajiwan
Attariya Hospital

यस्तै, चिनियाँ राजदूत माओमिङले पनि प्रधानमन्त्री शाहलाई शुभकामना दिँदै नेपाल–चीन सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता जनाएका थिए। प्रधानमन्त्री शाहले चीनसँगको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ गर्दै पारस्परिक हितका क्षेत्रमा मिलेर अघि बढ्नुपर्ने बताएका थिए।

प्रधानमन्त्रीले करिब दुई साताअघि नै दुवै राजदूतसँग भेट्ने तयारी गरे पनि सुनसरीलगायत जिल्लामा भएका हिंसात्मक घटनाका कारण भेटवार्ता पछि सरेको बताइएको छ। दुवै छिमेकी देशका राजदूतलाई एउटै दिन भेटेर प्रधानमन्त्री शाहले नेपालका लागि भारत र चीनको समान महत्त्व रहेको सन्देश दिन खोजेको देखिन्छ।