
कोलम्बियामा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प जाँदा कम्तीमा १११ जनाको मृत्यु भएको छ। भूकम्पका कारण थुप्रै भवन भत्किएका छन् भने केही मानिस भग्नावशेषमा फसेको आशंका गरिएको छ। उद्धार तथा खोजी कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

कोलम्बियाको भूगर्भीय सेवाका अनुसार स्थानीय समयअनुसार सोमबार बिहान ७ः३४ बजे चोको प्रान्तको सान होसे डेल पाल्मारनजिक केन्द्रबिन्दु बनाएर भूकम्प गएको थियो। करिब १०३ किलोमिटर गहिराइमा गएको भूकम्पको पुष्टि अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले पनि गरेको छ।
भूकम्पको सबैभन्दा ठूलो प्रभाव कफी उत्पादन क्षेत्रको प्रमुख सहर परेइरामा परेको बताइएको छ। केन्द्रबिन्दुबाट करिब ५५ किलोमिटर टाढा रहेको परेइरामा भवनहरू भत्किनुका साथै ठूलो संरचनात्मक क्षति भएको छ। मुख्य चोक प्लाजा बोलिभारमा भवन भत्किँदा भग्नावशेष र धुलो फैलिएको भिडियो सार्वजनिक भएका छन्।


केन्द्रबिन्दु रहेको सान होसे डेल पाल्मारमा भने ठूलो मानवीय क्षति नभएको स्थानीय अधिकारीहरूले बताएका छन्। सडकहरूमा क्षति पुगेको जनाइएको छ।
भूकम्पको धक्का राजधानी बोगोटासहित विभिन्न क्षेत्रमा महसुस गरिएको थियो। बोगोटामा भवन हल्लिएपछि मानिसहरू सडकमा निस्किएका थिए। सरकारले प्रभावित क्षेत्रमा आपत्कालीन अवस्था घोषणा गर्दै उद्धार तथा राहत कार्य तीव्र बनाएको छ। क्षतिको पूर्ण विवरण आउन बाँकी छ।






























