
अण्डाको माग बढेपछि नेपाल लेयर्स कुखुरापालक सङ्घले आजदेखि लागू हुने गरी अण्डाको समर्थन मूल्य वृद्धि गरेको छ। सङ्घका अनुसार ३० वटा एक्सएल अण्डाको क्रेटको मूल्य ५६० रुपैयाँ, ठूलो अण्डा ५४५, मिडियम ५०० र सानो अण्डा सात क्रेटको पेटीमा ३ हजार रुपैयाँ कायम गरिएको छ।

सङ्घका अध्यक्ष विनोद पोखरेलका अनुसार बर्डफ्लुको संक्रमण घटे पनि त्यसका कारण ठूलो संख्यामा कुखुरा मरेपछि अण्डाको उत्पादन घटेको छ। उत्पादन कम हुँदा बजारमा माग बढेकाले मूल्य वृद्धि भएको उनले बताए।

उनका अनुसार फार्मबाट प्राप्त दरका आधारमा नयाँ समर्थन मूल्य निर्धारण गरिएको हो। तर मूल्य बढे पनि किसानले अझै लागतअनुसारको मूल्य पाउन नसकेको उनको भनाइ छ। एउटा अण्डा उत्पादन गर्न औसत १९ रुपैयाँ १२ पैसा लागत लाग्ने भएकाले ३० वटा अण्डाको लागत ५७३ रुपैयाँ ६० पैसा पुग्छ।

बर्डफ्लुका कारण किसानले ठूलो आर्थिक क्षति व्यहोर्नुपरेको र लागत मूल्य नपाउँदा पछिल्ला केही वर्षदेखि व्यवसायबाट पलायन हुने क्रम बढेको व्यवसायी बताउँछन्। रोगको संक्रमण, उत्पादनमा कमी र बजार मूल्यमा हुने उतारचढावका कारण किसान बैंक ऋणको दबाबमा पर्दै आएको उनीहरूको भनाइ छ। पछिल्लो समय बर्डफ्लुका कारण कुखुरा मर्नु र अण्डाको उचित मूल्य नपाउँदा किसान थप समस्यामा परेका छन्।






























