
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत लिनुअघि नै राजीनामा दिने तयारी गरेका छन्। प्रदेशसभामा विश्वासको मत पाउने अवस्था नरहेपछि उनले यही साउन २७ वा २८ गते राजीनामा दिने तयारी गरेको जानकारी दिएका छन्।

मुख्यमन्त्री शाहका अनुसार विश्वासको मतका लागि आवश्यक बहुमत जुट्ने सम्भावना नदेखिएपछि राजीनामा दिने निष्कर्षमा पुगेका हुन्। प्रदेशसभामा आफ्नो पक्षमा पर्याप्त समर्थन नरहेको अवस्थामा विश्वासको मत लिनुभन्दा राजीनामा दिनु उपयुक्त हुने उनको भनाइ छ।
गत असार ३१ गते नेकपा (एमाले)ले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो। समर्थन फिर्तापछि मुख्यमन्त्रीमाथि विश्वासको मत लिनुपर्ने संवैधानिक दबाबसमेत बढेको थियो।


शाहले राजीनामा दिएसँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्नेछ। नयाँ सरकार गठनका लागि नेकपा र एमालेबीच सहमति भइसकेको बताइएको छ। सहमतिअनुसार नेकपाको नेतृत्वमा प्रदेश सरकार गठन हुने तयारी छ।
मुख्यमन्त्रीको राजीनामासँगै प्रदेशमा नयाँ राजनीतिक समीकरण कार्यान्वयन हुने र सत्ता हस्तान्तरणको प्रक्रिया अघि बढ्ने देखिएको छ। नयाँ सरकार गठनपछि प्रदेशका विकास निर्माण, प्रशासनिक काम र राजनीतिक स्थायित्वका विषयमा समेत चासो बढेको छ।






























