
धनगढीको होल्डिङ सेन्टरबाट गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालमा शय्या सार्न सुरु गरिएको छ। नेपाली सेनाको जिम्मामा रहेको होल्डिङ सेन्टरबाट मंगलबारदेखि शय्या स्थानान्तरण थालिएको हो।

शय्या ओसार्न धनगढी उपमहानगरपालिकाले १० वटा टिप्पर उपलब्ध गराएको जनाएको छ। मंगलबार साँझदेखि टिप्परमार्फत शय्या गेटा ल्याउने काम तीव्र रूपमा भइरहेको छ।
विश्वविद्यालयका अनुसार होल्डिङ सेन्टरबाट कुल पाँच सय शय्या शिक्षण अस्पतालमा ल्याइनेछ। यसअघि उपलब्ध शय्यासहित पाँच सय शय्या थपिएपछि विश्वविद्यालयको शिक्षण अस्पतालमा आठ सयभन्दा बढी शय्या उपलब्ध हुनेछन्।


शय्या स्थानान्तरणसँगै गेटास्थित शिक्षण अस्पतालको भौतिक पूर्वाधार र उपचार सेवा विस्तारमा थप सहजता हुने अपेक्षा गरिएको छ। विश्वविद्यालयले आवश्यक व्यवस्थापन गरी अस्पताल सञ्चालनका लागि पूर्वाधार तयारीलाई समेत अघि बढाइरहेको जनाएको छ।































