
कैलालीको गोदावरी सुदूरपश्चिम प्रदेशको प्रस्तावित स्थायी राजधानी हो। प्रदेशको प्रशासनिक केन्द्र बनाउने चर्चा वर्षौंदेखि चलिरहे पनि गोदावरीका बासिन्दा भने आधारभूत आवश्यकताकै रूपमा रहेको खानेपानीका लागि संघर्ष गरिरहेका छन्।

गोदावरीमा सात वर्षदेखि होटल व्यवसाय गर्दै आएका सुदीप पौडेलका अनुसार गत चैत–वैशाखदेखि धारामा नियमित पानी आएको छैन। खानेपानीको अभाव भएपछि वर्षायाममा गोदावरी नदीमा मोटर जडान गरी घरायसी तथा व्यवसायिक प्रयोजनका लागि पानी तान्नुपर्ने बाध्यता छ। नदीबाट पानी तान्दा अचानक आउने बाढीले मोटर बगाउने र मानवीय क्षतिसमेत हुनसक्ने जोखिम रहेको उनले बताए।
खानेपानीको अभावले होटल व्यवसायी झन् प्रभावित भएका छन्। ग्राहकलाई खाजा तथा खाना खुवाएपछि भाँडा धुनेदेखि पिउने पानीसम्मको व्यवस्थापन गर्न समस्या हुने गरेको पौडेलको भनाइ छ।


गोदावरी बजार खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष हर्कबहादुर देउवाले काठे पुलनजिक गरिएको डिप बोरिङको पानीको सतह केही महिनामै सुकेपछि समस्या बढेको बताए। विद्युत् भोल्टेजका कारण बोरिङ सञ्चालनमा समस्या आएको र ट्रान्सफर्मर फेर्न प्रक्रिया पूरा गरे पनि ठेकेदारका कारण ढिलाइ भएको उनको भनाइ छ। अब एक–दुई दिनमै बोरिङ सञ्चालनमा आउने भए पनि यो दीर्घकालीन समाधान नभएको देउवाले बताए।
समाजसेवी बिराज विष्टले प्रस्तावित प्रदेश राजधानीकै नागरिकले खानेपानीका लागि संघर्ष गर्नुपर्ने अवस्था लज्जास्पद भएको भन्दै समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन्।































