
इरानमाथि जारी अमेरिकी–इजरायली युद्धका बीच स्ट्रेट अफ होर्मुजमा तनाव थप चर्किएको छ। अमेरिकी सेनाले इरानी नाकाबन्दी तोडेर बन्दरगाहतर्फ अघि बढेको पानामाको झन्डा बोकेको कार्गो जहाजको स्टेयरिङ प्रणालीमा दुईवटा हेलफायर क्षेप्यास्त्र प्रहार गरेको जनाएको छ। चेतावनी दिए पनि जहाजले निर्देशन नमानेपछि कारबाही गरिएको अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) को दाबी छ।

सेन्टकमका अनुसार नाकाबन्दी तोडेर अघि बढेका ५५ वटा व्यावसायिक जहाजलाई अहिलेसम्म बाटो परिवर्तन गर्न लगाइएको छ। तीनवटा जहाजलाई निष्क्रिय पारिएको तथा दुईवटामा अमेरिकी सैनिक प्रवेश गरी नियन्त्रणमा लिइएको जनाइएको छ।
विश्वकै महत्वपूर्ण तेल तथा व्यापारिक जलमार्गमध्ये एक होर्मुजमा तनाव बढ्दा अन्तर्राष्ट्रिय आपूर्ति प्रणालीमा असर पर्ने चिन्ता बढेको छ। इरानले युद्ध र नाकाबन्दी अन्त्य, रोक्का गरिएका सम्पत्ति फुकुवा तथा युद्धविरामको माग गर्दै आफ्ना सर्त पूरा नभएसम्म जलमार्ग बन्द राख्ने चेतावनी दिएको छ।


यसैबीच कतारले ओमान र इरानबीच व्यावसायिक जहाज आवतजावत पुनः सुरु गर्ने विषयमा भइरहेको वार्ता महत्वपूर्ण चरणमा पुगेको जनाएको छ। पाकिस्तानका गृहमन्त्री मोहसिन नक्वी पनि मध्यस्थताका लागि तेहरान पुगेका छन्।
उता यमनका हुथी विद्रोहीले बाब अल–मन्देब जलडमरूमध्यमा सैन्य सामग्री बोकेको साउदी जहाजलाई लक्षित गरेको दाबी गरेका छन्। घटनामा ६ जनाको मृत्यु र १० जना घाइते भएको जनाइएको छ।
यससँगै पश्चिम किनारामा पनि हिंसा बढेको संयुक्त राष्ट्रसंघले जनाएको छ। यस वर्ष अहिलेसम्म ७६ प्यालेस्टिनी मारिएको र तीमध्ये १८ जना बालबालिका रहेको बताइएको छ।






























