हल्लाले बढायो ग्यासको माग, सुदूरपश्चिममा २४ दिनमै १ लाख १५ हजार सिलिण्डर बिक्री

Image
Nisarga Hospital

सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यास अभाव भएको हल्ला फैलिएसँगै बिक्री र आपूर्ति दुवै बढेको छ। नेपाल आयल निगमको सुदूरपश्चिम प्रादेशिक कार्यालयका अनुसार चालु आर्थिक वर्षको साउन २४ गतेसम्म प्रदेशमा १ लाख १५ हजार ९९० सिलिण्डर ग्यास बिक्री भइसकेको छ।

CP Hospital Dhangadhi

कार्यालय प्रमुख मनोहर डिसीका अनुसार गत आर्थिक वर्षको पूरै साउनमा १ लाख १२ हजार ७७० सिलिण्डर बिक्री भएको थियो। तर, यस वर्ष साउनको २४ दिनमै सोभन्दा ३ हजार २२० सिलिण्डर बढी बिक्री भएको छ। साउनको बाँकी अवधिमा थप ५० हजार सिलिण्डर ग्यास आउने क्रममा रहेको निगमले जनाएको छ।

चालु साउन २४ गतेसम्म बिक्री भएको ग्यासको परिमाण १ हजार ६५७ मेट्रिक टन पुगेको छ। गत वर्षको साउनभर १ हजार ४१६ मेट्रिक टन ग्यास बिक्री भएको थियो। यसरी गत वर्षको पूरै साउनको तुलनामा यस वर्ष २४ दिनमै २४१ मेट्रिक टन बढी ग्यास बिक्री भएको देखिन्छ।

nawajiwan

गत आर्थिक वर्षमा सुदूरपश्चिममा कुल ११ लाख ५० हजार ८३४ सिलिण्डर अर्थात् १६ हजार ४४० मेट्रिक टन ग्यास बिक्री भएको थियो। अघिल्लो आर्थिक वर्षमा ११ लाख ८० हजार ८३० सिलिण्डर बिक्री भएको थियो।

Attariya Hospital

चालु साउनमा बिक्री भएका सिलिण्डरमध्ये रेडियन्ट रोयल ग्यासका ७२ हजार ९४० र सैपाल ग्यासका ४३ हजार ५० सिलिण्डर रहेका छन्।

धनगढीमा गरिएको बजार अनुगमनका क्रममा डिलरहरूमा नियमित आपूर्ति भइरहे पनि उपभोक्ताको माग अस्वाभाविक रूपमा बढेको पाइएको छ। जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी खडानन्द खत्रीले हल्लाको पछि लागेर अतिरिक्त सिलिण्डर भण्डारण गर्दा बजारमा दबाब सिर्जना भएको बताए।

निगम प्रमुख डिसीले पनि सुदूरपश्चिममा ग्यास अभाव नरहेको स्पष्ट पारेका छन्। उनका अनुसार विगत वर्षको तुलनामा अहिले आपूर्ति बढाइएको छ। उपभोक्ताले अनावश्यक रूपमा सिलिण्डर थुपार्दा मात्रै बजारमा कृत्रिम दबाब देखिएको निगमको भनाइ छ।