

बाजुराको बडीमालिका क्षेत्रमा दूरसञ्चार सेवा विस्तारका लागि आवश्यक सञ्चार उपकरण तथा अन्य सामग्री हेलिकोप्टरमार्फत ढुवानी गरिएको छ। नेपाल टेलिकमले नेपाली सेनाको हेलिकोप्टरमार्फत मंगलबार उपकरण र आवश्यक सामग्री बडीमालिका क्षेत्रमा पुर्याएको हो।
भौगोलिक विकटता र सडक पहुँचको अभावका कारण स्थलमार्गबाट सामग्री ढुवानी गर्न कठिन भएपछि हेलिकोप्टरमार्फत सामग्री पुर्याउने व्यवस्था गरिएको हो। प्रतिकूल मौसमका कारण ढुवानीमा केही ढिलाइ भएको नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालयका निर्देशक बृजेश शर्माले जानकारी दिए।


उनका अनुसार सामग्री ढुवानी, आवश्यक जनशक्ति व्यवस्थापन तथा स्थानीय तहबाट उपलब्ध हुन सक्ने आर्थिक र अन्य सहयोगका विषयमा बडीमालिका र त्रिवेणी नगरपालिकाका प्रमुखसँग समन्वय भइरहेको छ। जडानस्थलमा आवश्यक सबै सामग्री पुगेपछि करिब पाँच दिनभित्र सेवा सञ्चालनमा ल्याउन सकिने नेपाल टेलिकमले जनाएको छ।
नेपाल टेलिकमले यसअघि साउनभित्रै बडीमालिकामा टेलिफोन तथा इन्टरनेट सेवा सञ्चालन गर्ने लक्ष्य राखेको थियो। प्रारम्भिक रूपमा ३० साउनसम्म काम सम्पन्न गर्ने योजना भए पनि मौसम र भौगोलिक कठिनाइका कारण समय थपिने भएको हो।
सरकारले दुर्गम तथा पर्यटकीय क्षेत्रमा सञ्चार सेवाको पहुँच विस्तारलाई प्राथमिकता दिएको छ। सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले गत ८ साउनमा बडीमालिका क्षेत्रमा तत्काल टेलिफोन तथा इन्टरनेट सेवा पुर्याउन नेपाल टेलिकमलाई निर्देशन दिएका थिए।






























