
हिन्दू धर्मशास्त्रीय मान्यताअनुसार बिहीबार देवताका गुरु बृहस्पति तथा भगवान श्रीहरि विष्णुको पूजा–आराधना गर्ने दिन मानिन्छ। यस दिन व्रत बस्दा धन, पुत्र तथा विद्या प्राप्त हुने धार्मिक विश्वास छ। साथै, भगवान विष्णुकी अर्धाङ्गिनी माता लक्ष्मीको समेत पूजा गर्ने परम्परा छ।

धार्मिक मान्यताअनुसार यो व्रत शुक्लपक्षको पहिलो बिहीबारबाट सुरु गरिन्छ। उक्त दिन अनुराधा नक्षत्र परे विशेष शुभ मानिन्छ। व्रतालुले बिहान स्नान गरी शुद्ध भएर पहेँलो वस्त्र धारण गर्ने र पहेँलो फूल तथा चन्दन अर्पण गरी भगवान विष्णुको पूजा गर्ने चलन छ।

व्रतका क्रममा ‘ॐ गुरवे नमः’ मन्त्र कम्तीमा पाँच माला जप गर्ने परम्परा रहेको छ। यो व्रत १३ महिनासम्म वा कम्तीमा सात महिनासम्म निरन्तर गर्नुपर्ने मान्यता छ। श्रद्धा र भक्तिपूर्वक पूजा तथा व्रत गर्दा भगवान विष्णु र बृहस्पतिको कृपा प्राप्त भई घरमा सुख, शान्ति, समृद्धि र सौभाग्य कायम हुने धार्मिक विश्वास गरिन्छ।
































