
‘जनआस्था’ साप्ताहिकका सम्पादक तथा प्रकाशक किशोर श्रेष्ठ पक्राउ परेपछि प्रहरीले बुधबार मध्यराति नख्खुस्थित उनको निवासमा छापा मारेको छ। पारिवारिक स्रोतका अनुसार प्रहरीले घरबाट ल्यापटप, कम्प्युटर तथा मोबाइललगायत विद्युतीय उपकरण नियन्त्रणमा लिएको छ।

कुसुन्तीस्थित निवास नजिकबाट पक्राउ परेका श्रेष्ठलाई जिल्ला प्रहरी परिसर काठमाडौं लगिएलगत्तै प्रहरी टोलीले उनको निवासमा छापा मारेको हो। त्यसपछि ललितपुरको ठाडोढुङ्गास्थित ‘जनआस्था’ कार्यालयमा समेत छापा मार्ने तयारी गरिएको भन्दै पत्रकारहरूले विरोध गरेका छन्।
प्रेस स्वतन्त्रताको रक्षाको माग गर्दै विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार कार्यालयमा भेला भएका छन्। पत्रकार महासङ्घलगायत सञ्चारसम्बद्ध सङ्घ–संस्थाले कानुनी प्रक्रिया मिचेर रातारात घर तथा मिडिया हाउसमा छापा मार्ने कार्य आपत्तिजनक भएको बताएका छन्।


प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठलाई व्यक्तिगत गोपनीयता उल्लङ्घनसम्बन्धी मुद्दामा अदालतको अनुमतिपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ। श्रेष्ठ हाल काठमाडौं प्रहरी परिसरको हिरासतमा छन्।
समाचारप्रति असहमति भए प्रेस काउन्सिल वा कानुनी प्रक्रियाबाट समाधान खोज्नुपर्नेमा सम्पादकलाई पक्राउ गर्नु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको पत्रकार सङ्गठनहरूको ठहर छ।































