
नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीको वैधानिक सभापति शेरबहादुर देउवा नै रहेको दाबी गरेका छन्। बिहीबार देउवा स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागतका लागि पुगेका कोइरालाले यस्तो धारणा राखेका हुन्।

सभापतिको जिम्मेवारीका विषयमा कुनै कानुनी अड्चन वा ‘स्टे अर्डर’ नरहेको उल्लेख गर्दै उनले देउवा नेतृत्वमै पार्टीलाई थप बलियो बनाउनुपर्नेमा जोड दिए। कोइरालाले कांग्रेसभित्र देखिएको विभाजन अन्त्य गरी सबै पक्षलाई एक ठाउँमा ल्याउनुपर्ने बताए।
उनले सानेपा पक्ष अलग भएर बसेको उल्लेख गर्दै उनीहरूलाई पुनः पार्टीको मूलधारमा फर्किन आग्रह गरे। पार्टीभित्र कसैप्रति अनादर वा असहमतिभन्दा संवाद र सहकार्य आवश्यक रहेको उनको भनाइ छ।


कोइरालाले कांग्रेसलाई एकढिक्का बनाउने प्रयास जारी रहने बताए। आन्तरिक असन्तुष्टि र विवाद संवादबाट समाधान गर्नुपर्ने उल्लेख गर्दै उनले ढिलोचाँडो सबै पक्ष एक ठाउँमा आउनुको विकल्प नरहेको स्पष्ट पारे।
उनका अनुसार पार्टीको नेतृत्व र संगठनलाई बलियो बनाउन आन्तरिक एकता पहिलो प्राथमिकता हुनुपर्छ। विभाजन र असन्तुष्टिले पार्टी कमजोर हुने भएकाले सबै नेता–कार्यकर्ता मिलेर अघि बढ्नुपर्ने उनले बताए।































