
गायिका, मोडल तथा सञ्चारकर्मी सरिता भारतीले आफ्नो स्वरमा नयाँ तीज गीत ‘भिजायो फरिया बर्खैले…’ को भिडियो सार्वजनिक गरेकी छन् । अविवाहित युवतीहरूको भावना, प्रेम, उमंग र तीजको सांस्कृतिक माहोललाई समेटिएको गीत सरिताको आफ्नै अफिसियल युट्युब च्यानल एसबी क्रिएसन नेपालमार्फत दर्शकमाझ ल्याइएको हो ।

तीजको मौलिक स्वादसँगै युवापुस्ताको भावनालाई प्रस्तुत गर्ने प्रयास गरिएको यस गीतका शब्द पत्रकार तथा गीतकार सुमन पण्डितले लेखेका हुन् भने गीतको लय तथा संगीत पनि पण्डितकै रहेको छ । गीतमा मदन केसीको संगीत संयोजन, सुमन रानाको रेकर्डिङ तथा कुमार रानाको मिक्सिङ÷मास्टरिङ रहेको छ ।
गीतको भिडियोमा गायिका सरिता भारतीसँगै ब्युटिसियन ट्यालेन्ट नेपाल सिजन–८ की विजेता चादनी श्रेष्ठ, ब्युटिसियन स्मृति सुब्बा, वरिष्ठ ब्युटिसियन सोनी कारंजित, ब्युटिसियनहरू निरु श्रेष्ठ, बिना रानामगर, मनिष नेपाल तथा बाल कलाकार वामिका जयसवाललगायतको अभिनय देख्न सकिन्छ। भिडियोमा कलाकारहरूको आकर्षक प्रस्तुति, तीजको मौलिक परिवेश र रमाइलो नृत्यले गीतलाई थप जीवन्त बनाएको छ ।
भिडियोलाई ओमप्रसाद प्रसाईँले छायांकन तथा सम्पादन गरेका हुन् । मेकअपतर्फ बिना राना मगर, श्रृष्टी महर्जन, राधिका जयसवाल र नन्दिनी कुमारी मालीको योगदान रहेको छ। भिडियो एसबी क्रियसनको निर्माणमा तयार भएको हो ।
त्यस्तै, भिडियोमा नृत्य निर्देशक सन्दीप भुजेलको कोरियोग्राफी, बद्री थापाको फोटोग्राफी तथा डब्बु क्षेत्रीको निर्देशन रहेको छ। भिडियोले तीजको उत्सवसँगै महिला भावनालाई मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरेको छ ।
गायन क्षेत्रमा विगत एक दशकदेखि सक्रिय सरिता भारतीको यो तेस्रो तीज गीत हो। यसअघि उनले ‘रातो सारी लरक्कै…’ र ‘नाच्छ भने नाच्न दे…’ जस्ता तीज गीत दर्शकमाझ ल्याइसकेकी छन्। यसपटक भने उनले अविवाहित युवतीहरूको मनोभाव, तीजको रमाइलो र वर्षाका कारण भिजेको फरियालाई प्रतीकात्मक रूपमा जोडेर गीत तयार गरिएको बताएकी छन् । सरिता भारती भन्छिन्, ‘तीज भनेको महिलाहरूको भावना, खुसी र उमंग व्यक्त गर्ने पर्व हो। यही भावनालाई गीत र भिडियोमार्फत प्रस्तुत गर्ने प्रयास गरेकी छु । दर्शक तथा श्रोताबाट अहिलेसम्म प्राप्त प्रतिक्रिया र मायाले निकै उत्साहित बनाएको छ ।’


गीत सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा समेत यसको चर्चा सुरु भएको छ। विशेषगरी गीतको शब्द, सरिताको स्वर, कलाकारहरूको प्रस्तुति तथा तीजको मौलिक परिवेशलाई दर्शकले रुचाएका छन्। ‘भिजायो फरिया बर्खैले…’ यस वर्षको तीजमा दर्शक–श्रोतामाझ थप लोकप्रिय बन्ने विश्वास यसका गीतका सुमनको रहेको छ ।































