
सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का खगराज भट्टले एमालेको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गरेका छन्। उनले शुक्रबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष संविधानको धारा १६८ को उपधारा (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार प्रदेशसभामा सम्बोधन गर्दै पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख मियाँले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए। उनले शुक्रबार बिहान ११ बजेसम्म दाबी पेस गर्न समय दिएका थिए। तोकिएको समयभित्रै भट्टले एमालेको समर्थनसहित दाबी पेस गरेका हुन्।
प्रदेश प्रमुखले आजै भट्टलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन्। नियुक्तिपछि दिउँसो ३ बजे शपथ ग्रहण गर्ने कार्यक्रम तय गरिएको नेकपाका एक सांसदले बताएका छन्। मुख्यमन्त्री बनेलगत्तै भट्टले शुक्रबार नै सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने सम्भावना रहेको नेताहरूको भनाइ छ।


नेकपा र एमालेबीच सुदूरपश्चिममा मन्त्रालय बाँडफाँटसमेत भइसकेको छ। सहमतिअनुसार नेकपाले मुख्यमन्त्रीसहित चार र एमालेले तीन मन्त्रालय पाउनेछ। एमालेले आर्थिक मामिला, सामाजिक विकास र वन वा कृषिमध्ये एक मन्त्रालयको नेतृत्व गर्ने तयारी गरेको छ।
यसअघि असार ३१ गते एमालेले बजेटमा असहमति जनाउँदै शाह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सत्ता समीकरण परिवर्तन भएको थियो। त्यसपछि शाहले राजीनामा दिएसँगै नयाँ सरकार गठनको प्रक्रिया अघि बढेको हो।































