
इरानसँगको युद्धपछि विश्वको ऊर्जा आपूर्तिको महत्वपूर्ण मार्ग होर्मुज स्ट्रेटमा निर्भर खाडी मुलुकहरूले वैकल्पिक तेल निर्यात मार्ग निर्माणलाई तीव्रता दिएका छन्। समुद्री बारुदी सुरुङ, मिसाइल तथा ड्रोन आक्रमणको जोखिम, नाकाबन्दी र बढ्दो बिमा लागतका कारण होर्मुज हुँदै हुने कच्चा तेलको दैनिक ढुवानी करिब २ करोड ब्यारेलबाट घटेर ३७ लाख ब्यारेलमा सीमित भएको बताइएको छ।

यसले साउदी अरब, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत र इराकलाई दशकौँदेखि प्रयोग हुँदै आएको मार्गको विकल्प खोज्न बाध्य बनाएको छ। नयाँ पाइपलाइन निर्माण, पुराना पूर्वाधारको क्षमता विस्तार र एसियाली बजारमा तेल भण्डारण बढाउने रणनीति अघि सारिएको छ।
यूएईले होर्मुजमाथिको निर्भरता घटाउन फुजैरामा नयाँ तेल पाइपलाइन निर्माणलाई तीव्रता दिएको छ। आबुधाबीका तेल क्षेत्रलाई ओमानको खाडीस्थित फुजैरासँग जोड्ने यो परियोजना पूरा भएपछि दैनिक ३६ लाख ब्यारेलसम्म तेल होर्मुज स्ट्रेट नछिर्ई अन्तर्राष्ट्रिय बजारमा पठाउन सकिनेछ। यूएईले ग्यास व्यापारलाई सुरक्षित बनाउन एडनोकमार्फत प्राकृतिक ग्यास परियोजनामा ८.२ अर्ब डलर लगानी गर्ने तथा पूर्वी तटमा एलएनजी निर्यात टर्मिनल निर्माण गर्ने योजना पनि अघि सारेको छ।


साउदी अरबले भने पूर्वी तेल क्षेत्रलाई रेड सीको यान्बु बन्दरगाहसँग जोड्ने १,२०१ किलोमिटर लामो ‘इस्ट–वेस्ट पाइपलाइन’ को प्रयोग बढाएको छ। यसबाट दैनिक करिब ७० लाख ब्यारेल तेल रेड सी हुँदै निर्यात भइरहेको र क्षमता थप १० देखि २० लाख ब्यारेल बढाउने तयारी छ।
कुवेतले रेड सी वा ओमानका बन्दरगाहसँग जोडिने सम्भावित पाइपलाइनबारे छलफल गरिरहेको छ। इराकले पनि जोर्डनसँग रोकिएको पाइपलाइन परियोजना पुनः अघि बढाउँदै अकाबा बन्दरगाहसम्म दैनिक १० लाख ब्यारेलसम्म तेल पठाउने तयारी गरेको छ।
यता, भारत, जापान र दक्षिण कोरियामा अतिरिक्त तेल भण्डारण बढाउने रणनीति पनि अघि सारिएको छ। तर वैकल्पिक मार्ग पूर्ण सुरक्षित भने छैनन्। रेड सी र बाब अल–मन्देब क्षेत्रमा जहाजमाथि आक्रमणको जोखिम कायमै रहेकाले विज्ञहरू होर्मुजको निर्भरता घटाउन सकिए पनि त्यसलाई पूर्ण रूपमा विस्थापित गर्न कठिन हुने बताउँछन्।































