
अत्तरियाः सुदूरपश्चिमका हिमाली जिल्लामा उत्पादन भएको अर्गानिक स्याउ बजारसम्म पुर्याउन समस्या भएपछि नेपाल चेम्बर अफ कमर्श, सुदूरपश्चिम प्रदेशले तत्काल समाधानका लागि सरकारसँग माग गरेको छ।

बाजुरा, बझाङ र दार्चुलामा किसानको मेहनतले उत्पादन भएको स्याउ बजारमा आउने तयारीमा रहे पनि जीर्ण सडक, भौगोलिक विकटता र ढुवानी साधनको अभावका कारण किसान समस्यामा परेका छन्। समयमै बजार नपाउँदा स्याउ बोटमै कुहिने जोखिम बढेको चेम्बरले जनाएको छ।
चेम्बरले सरकारलाई दुर्गम क्षेत्रबाट धनगढी, अत्तरिया, महेन्द्रनगरलगायत प्रमुख बजारसम्म स्याउ पुर्याउन तत्काल विशेष ढुवानी व्यवस्था गर्न आग्रह गरेको छ। साथै, उत्पादनलाई सुरक्षित राख्न स्थानीय तह र प्रदेश सरकारको समन्वयमा चिस्यान केन्द्रको व्यवस्था गर्न माग गरिएको छ।


आयातित स्याउलाई निरुत्साहित गर्दै सुदूरपश्चिममै उत्पादित रैथाने तथा अर्गानिक स्याउलाई प्राथमिकता दिनुपर्ने चेम्बरको माग छ। उपभोक्तालाई पनि स्वदेशी उत्पादन प्रयोग गर्न अपिल गर्दै किसानका समस्या बेवास्ता गरिए दबाबमूलक कार्यक्रम अघि बढाउने चेतावनी दिएको छ।
































