
नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेशका सभापति वीरबहादुर बलायरले केन्द्रीय सभापति गगन थापाले अघि सारेको ‘कांग्रेस २.०’ अवधारणामा आफू समावेश नरहेको बताएका छन्। संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै बलायरले यस्तो धारणा राखेका हुन्।

उनले ‘कांग्रेस २.०’ बीपी कोइरालादेखि शेरबहादुर देउवासम्मको कांग्रेसको अन्त्य र नयाँ व्यक्तिको सुरुवातबाट बन्ने कांग्रेस भएको टिप्पणी गरे। बाध्यात्मक रूपमा त्यस अवधारणाभित्र पर्नुपर्ने अवस्था आए पनि आफू त्यसमा नरहने उनको भनाइ थियो।

बलायरले बीपी कोइरालाले प्रतिपादन गरेको समाजवाद जीवनपर्यन्त आवश्यक रहेको बताए। आफूहरू बीपीको विचारका अनुयायी भएकाले त्यसमा कसैसँग सम्झौता गर्न नसकिने उनले स्पष्ट पारे।

राष्ट्रिय भेलामा सहभागी नेताहरू संघर्षको विरासत बोकेका नेता भएको दाबी गर्दै बलायरले काठमाडौंको सानेपामा बस्नेहरूलाई त्यस्तो संघर्षको अनुभव नहुने टिप्पणीसमेत गरे। उनले कांग्रेसको मूल विचार र विरासत जोगाउनुपर्नेमा जोड दिए।































