
अत्तरियाः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफू अझै पनि सक्रिय राजनीतिका लागि सक्षम रहेको सन्देश दिएका छन्। उपचारपछि नेपाल फर्किएका देउवालाई नेता विमलेन्द्र निधिले स्वास्थ्य अवस्थाबारे चासो राख्दा उनले आफू नथाकेको भन्दै जोशिलो जवाफ दिएका थिए।

‘म किन थाक्ने ? दिनको दुई घण्टा ट्रेडमिल गर्थेँ। डडेल्धुरा हिँडेरै जान सक्छु,’ देउवाले निधिसँग भनेका थिए। गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भएको आक्रमणमा परी घाइते भएका देउवा उपचारका लागि फागुन १३ गते राति सिंगापुर गएका थिए। सिंगापुरमा उपचारपछि पत्नी आरजु राणासहित उनी केही समय हङकङमा बसेका थिए।

लामो समय विदेशमा उपचार र आराम गरेपछि देउवा बिहीबार काठमाडौं फर्किएका हुन्। नेपाल फर्किएसँगै उनको सक्रियता र आगामी राजनीतिक भूमिकाबारे कांग्रेसभित्र चासो बढेको छ। देउवाको पछिल्लो अभिव्यक्तिले भने उनी तत्कालै राजनीतिबाट विश्राम लिने पक्षमा नरहेको संकेत गरेको छ।
































