
दार्चुलाको महाकाली नगरपालिका–४ रिङ्गेताल नजिक पहिरो खस्दा तीन जना घाइते भएका छन्। शुक्रबार साँझ दुहु जाने जीपस्टेन्ड नजिक सडक माथिबाट पहिरो खस्दा दुहु गाउँपालिका–४ धारीका सुरज कुँवरसहित तीन जना घाइते भएका हुन्।

जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक देवेन्द्र बुढाथोकीका अनुसार पहिरोमा परी कुँवरको खुट्टामा चोट लागेको छ। जिल्ला अस्पताल दार्चुलामा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई अन्यत्र रिफर गरिएको अस्पतालले जनाएको छ।
पहिरोमा परी मालिकार्जुन गाउँपालिका–२ घर भई खलंगामा बस्दै आएका भागरती धामी र भानसिंह धामी पनि घाइते भएका छन्। उनीहरू दुवैको जिल्ला अस्पताल दार्चुलामा उपचार भइरहेको छ।


पहिरो खसेपछि दुहु गाउँपालिकालाई जिल्ला सदरमुकाम खलंगासँग जोड्ने तिंकर सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ। सडक अवरुद्ध हुँदा यातायात प्रभावित भएको छ। पहिरोका कारण थप क्षति हुन नदिन र सडक खुलाउन महाकाली नगरपालिकाको डोजर परिचालन गरिएको छ।
प्रहरीका अनुसार अहिले सडकबाट पहिरो हटाउने काम भइरहेको छ। लगातार वर्षा भइरहेकाले पहिरोको जोखिम कायमै रहेकाले यात्रु तथा स्थानीयवासीलाई सावधानी अपनाउन आग्रह गरिएको छ।































