
सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले स्वास्थ्य सेवा सुधारलाई प्राथमिकतामा राख्दै प्रदेशका अस्पतालमा डायलाइसिस सेवा विस्तार गर्ने निर्णय गरेका छन्। शुक्रबार पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हालेपछि बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेशका विभिन्न अस्पतालमा थप डायलाइसिस शय्या विस्तार गर्ने निर्णय गरेको हो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सेती प्रादेशिक अस्पतालमा पाँच, महाकाली प्रादेशिक अस्पतालमा चार र टीकापुर प्रादेशिक अस्पतालमा तीन डायलाइसिस शय्या थप गरिनेछ। त्यस्तै लम्कीचुहा अस्पतालमा पाँच तथा बयलपाटा, जोगबुडा र प्रदेशका सबै जिल्ला अस्पतालमा दुई–दुई डायलाइसिस शय्या विस्तार गरिने निर्णय भएको छ।
डायलाइसिस सेवा विस्तारपछि मिर्गौला रोगका बिरामीलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुने प्रदेश सरकारको अपेक्षा छ। पर्याप्त सेवा नहुँदा नियमित डायलाइसिस आवश्यक पर्ने बिरामीले लामो दूरी तय गर्नुपर्ने अवस्था रहँदै आएको छ।


पहिलो मन्त्रिपरिषद् बैठकले विभिन्न आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति श्रद्धाञ्जलीसमेत व्यक्त गरेको छ। मुख्यमन्त्री भट्टसँगै एमालेबाट सामाजिक विकासमन्त्री सन्तोषकुमारी शर्मा थापा, आर्थिक मामिलामन्त्री चक्र मल्ल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दमन भण्डारी र एक राज्यमन्त्रीले पनि पद तथा गोपनीयताको शपथ लिएका छन्।
नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरूले सुशासन, पारदर्शिता र नागरिकमैत्री सेवा प्रवाहलाई प्राथमिकतामा राखेर प्रदेश सरकार सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।































