वर्षौं बित्दा पनि बनेन डडेल्धुराको भात्काँडा–बडाल–रेल सडक, स्थानीयलाई सास्ती

Image
Nisarga Hospital

डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भात्काँडादेखि बडाल हुँदै रेलसम्म जोड्ने सडक वर्षौं बितिसक्दा पनि स्तरोन्नति हुन नसक्दा स्थानीयले सास्ती खेप्नुपरेको छ। पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको गाउँ रुवाखोलासहित चार गाउँलाई जोड्ने यो सडक स्थानीयका लागि ‘लाइफलाइन’ भए पनि निर्माणमा भइरहेको ढिलाइले आवागमन प्रभावित बनेको छ।

CP Hospital Dhangadhi

२०५४ सालमा उद्घाटन गरिएको सडकको भात्काँडा बजारदेखि अगाडिको करिब चार किलोमिटर खण्ड अझै कालोपत्र हुन सकेको छैन। वर्षायाममा हिलो र खाल्डाखुल्डी तथा अन्य समयमा धुलोका कारण स्थानीयले समस्या भोग्दै आएका छन्।

nawajiwan

पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले शुक्रबार भात्काँडामा स्थानीयका गुनासा सुन्दै सडकको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाएका छन्। स्थानीयले पटक–पटक म्याद थपिए पनि काम पूरा नभएको, निर्माण कार्यमा ढिलाइ भएको तथा भएको कामसमेत गुणस्तरीय नभएको भन्दै मन्त्रीसमक्ष गुनासो गरेका थिए।

Attariya Hospital

राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला सचिव टंकप्रसाद अवस्थीले सडकसहितका आधारभूत पूर्वाधारको अभावमा स्थानीय बसाइँ सर्न बाध्य भइरहेको बताए। स्थानीयले मन्त्री आउने वा चुनावका बेला मात्रै सडकका खाल्डाखुल्डी पुर्ने गरिएको आरोपसमेत लगाएका छन्।

सडक डिभिजन कुलपातेका प्रमुख रमेश भट्टराईका अनुसार हाल करिब चार किलोमिटर सडकको मात्रै ठेक्का लागेको छ। करिब ४० किलोमिटर लामो सडकको २५ किलोमिटर खण्डको डीपीआर तयार भइसकेको र आयोजना लागत एक अर्ब रुपैयाँभन्दा बढी हुने अनुमान छ।

एएनके–जोशी–मालिका जेभीले २०७८ सालमा ठेक्का पाएको थियो। २०८० सालभित्र सम्पन्न गर्नुपर्ने काम २०८२ सालसम्म म्याद थप्दा पनि पूरा हुन सकेको छैन।