
देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज विभिन्न प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास तथा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपालनजिक रहेको छ।

हाल देशभर सामान्यतया बदली रहेको छ। बागमती र गण्डकीका धेरै स्थान, लुम्बिनी र कर्णालीका केही भाग तथा कोशीका पहाडी क्षेत्रमा वर्षा भइरहेको छ। गण्डकीका केही स्थानमा भारी वर्षा भइरहेको महाशाखाले जनाएको छ।
आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली तथा पहाडी क्षेत्रमा धेरै स्थानमा तथा कोशी र बागमतीका हिमाली–पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा समेत धेरै स्थानमा वर्षा हुनसक्नेछ।


गण्डकी र कर्णालीका पहाडी तथा लुम्बिनी र सुदूरपश्चिमका पहाडी–तराई क्षेत्रमा एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। रातिसमेत वर्षा जारी रहने र हिमाली क्षेत्रमा हिमपात हुनसक्ने महाशाखाले जनाएको छ। सुदूरपश्चिमका पहाडी तथा तराईका एकदुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेकाले बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम रहेको छ।
वर्षाले जनजीवन, कृषि, पर्यटन, सडक तथा हवाई यातायातमा असर पार्नसक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।































