
चितवनको इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा सुक्खा पहिरो खस्दा मुग्लिन–काठमाडौँ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। गएराति सुक्खा पहिरो खसेपछि सडक दुईतर्फी रूपमा बन्द भएको हो।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रातिको समयमा पहिरो खसेकाले मुग्लिनबाट काठमाडौँतर्फ तथा काठमाडौँबाट मुग्लिनतर्फ जाने सवारीसाधन बाटोमै रोकिएका छन्। पहिरोका कारण सडकमा सवारीसाधनको आवागमन पूर्ण रूपमा ठप्प भएपछि यात्रु तथा चालक समस्यामा परेका छन्।
प्रहरीका अनुसार आइतबार बिहानैदेखि सडकमा थुप्रिएको पहिरो हटाउने काम सुरु गरिएको छ। पहिरो पन्छाउन लोडर तथा जेसीबी परिचालन गरिएको प्रहरीले जनाएको छ।

पहिरो हटाएर सडक सञ्चालनमा ल्याउने प्रयास भइरहेको भए पनि सडक पूर्ण रूपमा कहिले खुल्ने भन्नेबारे यकिन समय तोकिएको छैन। यस सडकखण्ड हुँदै यात्रा गर्ने यात्रुलाई अवस्था बुझेर मात्रै यात्रा गर्न तथा सम्भावित जोखिमबाट बच्न प्रहरीले आग्रह गरेको छ।

मनसुनका कारण यस क्षेत्रमा पुनः पहिरो खस्न सक्ने सम्भावना रहेकाले सडक खुलाएपछि पनि यात्राका क्रममा सावधानी अपनाउन आवश्यक देखिएको छ।
सिमलधाराको पहिरो पन्छाएपछि नारायणगढ–काठमाडौँ सडक दुईतर्फी सञ्चालन
पृथ्वीराजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–५ सिमलधारामा खसेको सुक्खा पहिरो पन्छाएपछि नारायणगढ–काठमाडौँ सडकखण्ड दुईतर्फी सञ्चालनमा आएको छ। शुक्रबार राति १०:२५ बजे रुखसहित सडकमा खसेको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो। रातभर उपकरण प्रयोग गरी पहिरो हटाएपछि शनिबार बिहान ६:१५ बजेदेखि सवारीसाधनको आवागमन सहज बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। सडक खुलेसँगै रातभर रोकिएका सवारीसाधन गन्तव्यतर्फ लागेका छन्।































