
नेपाली कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय सम्मेलनले पाँचबुँदे निर्णय गर्दै पार्टीको १५औँ महाधिवेशन शेरबहादुर देउवाको सभापतित्वमा सम्पन्न गर्ने निर्णय गरेको छ। १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामा महाधिवेशन सम्पन्न गर्ने सम्मेलनले जनाएको हो।

सम्मेलनले देउवाकै नेतृत्वमा पार्टी एकताबद्ध भई १५औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न हुने विश्वास व्यक्त गरेको छ। महाधिवेशनसम्म पार्टीका नियमित गतिविधि सभापतिको निर्देशनमा राष्ट्रिय भेला तथा सम्मेलनका संयोजक शशांक कोइरालाले संयोजन गर्ने निर्णयसमेत गरिएको छ।
सम्मेलनले देशको वर्तमान परिस्थितिलाई राष्ट्रिय संकटका रूपमा उल्लेख गर्दै राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणका लागि राष्ट्रिय तथा लोकतन्त्रवादी शक्तिसँग संवाद र सहकार्य गर्ने निर्णय गरेको छ। २०३३ सालमा बीपी कोइरालाले राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएको प्रसंगलाई समेत सम्मेलनले स्मरण गरेको छ।


धर्मसम्बन्धी विषयमा सम्मेलनले सनातन धर्मलाई नेपालको राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ। सनातनदेखि चलिआएको धर्म–संस्कृति नेपालको पहिचान भएको उल्लेख गर्दै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र धार्मिक स्वतन्त्रताको संरक्षणसँगै हिन्दु, बौद्ध, किराँत तथा प्राकृतिक धर्मको संरक्षण गर्ने दायित्व पूरा गर्ने निर्णय गरिएको छ।
त्यस्तै, जनअपेक्षाअनुसार वर्तमान संविधानमा आवश्यक संशोधन गर्न संविधानमै रहेको व्यवस्थाबमोजिम सम्बन्धित सबै पक्षसँग संवाद गरी निकास खोज्ने निर्णय गरिएको छ।
सम्मेलनबाट पारित प्रस्ताव तथा सुझावलाई समेटेर अन्तिम दस्तावेज तयार गर्ने जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा उमाकान्त चौधरी, सीता राना, मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइकेललाई दिइएको छ।































