सरकारसँग वार्ता निष्कर्षविहीन भएपछि भोलिदेखि देशभर म्यानपावर बन्द गर्ने व्यवसायीको घोषणा

Image
Nisarga Hospital

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले आफ्ना माग सम्बोधनमा सरकारले उदासीनता देखाएको आरोप लगाउँदै भोलिदेखि देशभरका सम्पूर्ण म्यानपावर कम्पनी बन्द गर्ने घोषणा गरेको छ। सङ्घले म्यानपावर कार्यालय बन्द गर्नुका साथै वैदेशिक रोजगारीमा श्रमिक पठाउने सम्पूर्ण प्रक्रिया समेत रोक्ने जनाएको छ।

CP Hospital Dhangadhi

सङ्घले यसअघि आन्दोलनका चरणबद्ध कार्यक्रमअन्तर्गत पूर्व–अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङ रोकिसकेको थियो। श्रम स्वीकृति प्राप्त गरिसकेका श्रमिकको उडानका लागि दिइएको समयसीमा समेत समाप्त भएपछि अब पूर्ण रूपमा काम–कारोबार बन्द गर्न लागिएको सङ्घले जनाएको छ।

सङ्घका वरिष्ठ उपाध्यक्ष महेश कुमार बस्नेतका अनुसार प्रक्रिया पूरा भइसकेका श्रमिकलाई उडान गराउन एक साताअघि नै सम्बन्धित म्यानपावरलाई सर्कुलर जारी गरिएको थियो। आइतबार राति १२ बजेसम्म प्रक्रिया पूरा भई उडानका लागि तयार भएका श्रमिकलाई पठाइने भए पनि त्यसपछि नयाँ उडानसमेत रोक्ने उनले बताए।

nawajiwan

शुक्रबार श्रम मन्त्रालयको टोलीसँग भएको प्रारम्भिक छलफलमा व्यवसायीका मागबारे ठोस सहमति हुन नसकेको सङ्घको भनाइ छ। मन्त्रालयस्तरमा छलफल भए पनि मन्त्रिस्तरमा वार्ता नभएको र सरकारले व्यवसायीका समस्या प्राथमिकतामा नराखेको आरोप सङ्घले लगाएको छ।

Attariya Hospital

सङ्घका अनुसार भोलिदेखि काठमाडौंस्थित मुख्य कार्यालयसहित देशभरका शाखा बन्द हुनेछन्। नयाँ विज्ञापन, अन्तर्वार्ता, रिक्रुटिङ प्रक्रिया, पूर्वनिर्धारित श्रमिक उडान तथा वैदेशिक रोजगारीसँग सम्बन्धित सरकारी र प्रशासनिक काम–कारोबारसमेत रोकिनेछ।

महासचिव हीराबहादुर डाँगीद्वारा जारी विज्ञप्तिमा आन्दोलन व्यवसायीको पेसागत अस्तित्व, सम्मान, अधिकार र दीर्घकालीन भविष्यसँग जोडिएको निर्णायक अभियान भएको उल्लेख गरिएको छ। मागको ठोस सम्बोधन र कार्यान्वयनको विश्वसनीय आधार नआएसम्म आन्दोलन फिर्ता नहुने सङ्घले जनाएको छ।

सङ्घले वार्ताका लागि ढोका खुला रहेको बताए पनि ठोस कदम नचालेसम्म काममा नफर्कने अडान लिएको छ। निर्णयविपरीत लुकिछिपी कार्यालय सञ्चालन गर्ने संस्थालाई अभिलेखमा राखी भविष्यमा सङ्घको सहयोग र संरक्षणबाट वञ्चित गर्ने तथा कारबाही प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिइएको छ।