
अत्तरियाः नेपाल शिक्षक महासंघ गोदावरी नगर समिति कैलालीको पूर्ण घोषणा कार्यक्रम सम्पन्न भएको छ। आइतबार आयोजित कार्यक्रममा १९ सदस्यीय नयाँ कार्यसमिति घोषणा गरिएको हो। कार्यक्रम गोदावरी नगर अध्यक्ष केशव राज ओझाको सभापतित्वमा सम्पन्न भएको थियो।

घोषित कार्यसमितिको सह–अध्यक्षमा कृष्णबहादुर विक, उपाध्यक्षमा निर्मला बिसी, सह–सचिवमा केशव साउँद र प्रेमराज जोशी चयन भएका छन्। यस्तै सहसचिवमा अर्जुन भट्ट, गणेश बिसी र महिला सहसचिवमा चन्द्रा विष्ट चयन भएका छन्।
सदस्यमा भूपेन्द्र सिंह धामी, मुन्ना बहादुर दमाई, कलावती योगी, तर्कराज चौधरी, बाबुराम चौधरी, बलबहादुर खत्री, मीनबहादुर दर्लामी र नन्दसिंह कोली चयन भएका छन्। पदेन सदस्यमा भूपेन्द्र चन्द, भक्त रावल र लालबहादुर विक रहेका छन्।


नवनिर्वाचित पदाधिकारी तथा सदस्यलाई नेपाल शिक्षक महासंघ कैलालीका अध्यक्ष एवं कार्यक्रमका प्रमुख अतिथि गणेशप्रसाद ओझाले पद तथा गोपनीयताको शपथ गराएका थिए। कार्यक्रमको सञ्चालन एनएनटीए गोदावरीका अध्यक्ष भूपेन्द्रबहादुर चन्दले गरेका थिए।
यद्यपि समितिका सचिव, कोषाध्यक्षलगायत केही पद अझै रिक्त छन्। आइतबार नेपाल शिक्षक संघका पदाधिकारीको सहभागिता नभएका कारण ती पदमा पदपूर्ति गर्न बाँकी रहेको जनाइएको छ। नेपाल शिक्षक संघले जिल्लाबाट तोकिएको अध्यक्ष पद आफूले पाउनुपर्ने माग गर्दै आएको बताइएको छ।
साउन १३ गते सम्पन्न शिक्षक महासंघ कैलालीको अधिवेशनबाट केशव राज ओझालाई गोदावरी नगर अध्यक्षमा चयन गरिएको थियो। महासंघले कैलालीका १३ वटै स्थानीय तहमा अध्यक्षसमेत चयन गरेको थियो।































