
अत्तरियाः कैलालीको गोदावरी नगरपालिका–७ मा ‘सुदूर युवा क्लब’को औपचारिक घोषणा गर्दै वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। शनिबार श्री चण्डेश्वरी आधारभूत विद्यालय परिसरमा आयोजित कार्यक्रममा क्लबका पदाधिकारीलाई दुई वर्षका लागि जिम्मेवारी प्रदान गर्नुका साथै विभिन्न प्रजातिका बिरुवा रोपिएको हो।

क्लबका अध्यक्ष शान परियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गोदावरी नगरपालिका–७ की वडा अध्यक्ष कलावती साउद प्रमुख अतिथि थिइन्। वडा सदस्य, विभिन्न सामुदायिक वनका अध्यक्ष, खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका प्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक, समाजसेवी, सामाजिक अभियन्ता तथा बालबालिका र युवाको सहभागिता रहेको थियो।
कार्यक्रममा बोल्दै सहभागीहरूले युवालाई खेलकुद, शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, सरसफाइ तथा सामाजिक गतिविधिमा सक्रिय बनाउन यस्ता संस्थाको भूमिका महत्वपूर्ण हुने बताएका थिए। क्लबले स्थानीय युवालाई समेट्दै सामाजिक उत्तरदायित्व र सकारात्मक परिवर्तनका अभियान सञ्चालन गर्ने जनाएको छ।

गत साउन ९ गते गोदावरी–७ का विभिन्न टोलबाट प्रतिनिधित्व हुने गरी समावेशी ढंगले गठन गरिएको क्लबलाई शनिबार पूर्णता दिइएको हो। क्लबको अध्यक्षमा शान परियार, उपाध्यक्षमा रविन चौधरी, सचिवमा चन्द्रा शाह, सहसचिवमा जगतबहादुर श्रीमाल र कोषाध्यक्षमा मनिषा भुल चयन भएका छन्। कार्यसमितिमा विभिन्न टोलको प्रतिनिधित्व हुने गरी १५ सदस्य रहेका छन्।

त्यस्तै, वडा अध्यक्ष कलावती साउदको संयोजकत्वमा सात सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ। समितिमा ठक्करबहादुर मगर, अम्मरराज पाठक, विशुराम चौधरी, अम्मरराज उपाध्याय, मोहित शाही र वेदप्रसाद फुलारा सदस्य रहेका छन्।
वृक्षारोपणका लागि वन डिभिजन कार्यालयले बिरुवा उपलब्ध गराएको थियो। कार्यक्रममा गोलादेउ टेन्ट हाउसले टेन्ट, मीनबहादुर विकले पानी तथा चण्डेश्वरी आधारभूत विद्यालयले आवश्यक सहयोग गरेको आयोजकले जनाएको छ।
क्लबले आगामी दिनमा युवाको क्षमता विकाससँगै वातावरण संरक्षण, सामाजिक सेवा, सरसफाइ, खेलकुद तथा सांस्कृतिक गतिविधिलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।































